गृहपृष्ठ धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ आजदेखि शैक्षिक महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरण गर्न एउटा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नयाँ प्रविधिलाई आत्मसात् गर्दै यो महत्वलाई थप बढावा दिनुपर्ने बताए । पुस्तकलाई प्रदर्शनी र व्यावसायिक रूपले मात्र नहेर्न व्यवासयीहरूलाई आग्रह गरे ।
व्यवसायी सङ्घका अध्यक्ष भीम पडालले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजनाले पुस्तकको महत्व विस्तार र ज्ञान प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्था र शिक्षासँग सम्बन्धित निकायका गरी एक सयभन्दा बढी स्टल रहेको बताए ।
आगामी १५ गतेसम्म चल्ने महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ । रमाइलो मेला, राष्ट्रिय कलाकारहरूका प्रस्तुतिका साथै सुदूरपश्चिमका मौलिक परिकारसहितका खाना र खाजाका कक्षसमेत यहाँ राखिएका छन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुनेछ ।
महोत्सको व्यवस्थापनमा करिब दुई करोड बढी खर्च हुने, दुई लाख दर्शकले अवलोकन र पाँच करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १९:०८ बजे

















