गृहपृष्ठ आन्तरिक अराजकताको द्वन्द्वमा कांग्रेस, सत्तादेखि महाधिवेशनसम्मै लफडा
आन्तरिक अराजकताको द्वन्द्वमा कांग्रेस, सत्तादेखि महाधिवेशनसम्मै लफडा
सरकार सञ्चालन र पार्टी महाधिवेशनको कलहले कांग्रेस स्पष्ट दुई भागमा बाँडिएको छ । कोशी प्रदेश भेलापछि बढेको विवादले कांग्रेसमा भुसको आगो सल्किएको स्पष्ट देखिन्छ । त्यसमाथि आन्तरिक शक्ति संघर्षकै क्रममा बेलगाम बोलीले कांग्रेसकै बहुरुप प्रदर्शन हुन थालेको छ ।
अरु पार्टीमा नेतृत्वविरुद्ध बोलेकै भरमा कारबाहीको डर पाल्नु पर्ने अवस्थामा कांग्रेसमा भने त्यो छुट छ । तर, छुट यति धेरै छ कि, पछिल्ला केही व्यवहारले असली कांग्रेस कुन हो भन्ने छुट्याउनै हम्मे परेको छ । त्यसमाथि संस्थापन इतर पक्षका नेताहरुलाई एकवर्ष पहिल्यै महाधिवेशनले छुँदा अवस्था झनै भद्रगोल बनेको छ । एक पक्षलाई यो सरकार टिकाएर जसरी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँनुछ । अर्को पक्षलाई सरकारका कामै मन परेका छैनन् । अर्कोतर्फ बीआरआई विवाद र गुटको झगडामा कांग्रेसका बहुरुपले हैरान पारेको छ ।
१. गुटको कलह
विधानअनुसार कांग्रेसको १५ औँ महाधिवेशन २०८२ सालको मंसिरमा हुनुपर्छ । अर्थात महाधिवेशन आउन अब करिब एकवर्ष छ । तर, सभापतिलाई थप एक वर्षसम्म कार्यकाल लम्ब्याउन पाउने अधिकार पनि छ । संस्थापन इतर पक्षले समयमै महाधिवेशन गराउन दबाब दिइरहेको छ । यसलाई स्वभाविक मान्न सकिए पनि महामन्त्री गगन थापाले गुट फेरेपछि इतर पक्ष झनै आक्रामक बनेको छ । शेखर कोइरालाले गत मंसिर १८ गते कोशी प्रदेशको आफू पक्षका पालिका सभापतिहरुलाई मोरङमा बोलाएर भेला गरेका थिए । भेला रोक्न गगन थापाले नै पत्राचार गर्नुपरेको थियो । तर शेखरले भेला राखी छाडे । समानान्तर गतिविधिको अभ्यास गरिसकेका शेखरले गत शनिबार सभापति देउवासमेत सहभागी भएको कोशी प्रदेश सम्मेलन नै बहिस्कार गरेपछि कांग्रेसमा भित्रभित्रै असन्तुष्टीकाे आगो सल्किरहेको बुझ्न समस्या छैन । यसको निशानामा गुट फेरेका गगन परेका छन् ।
२. बीआरआई फ्रेमवर्क अर्को निहुँ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई सम्झौता गोप्य राखिएको भन्दै शेखर पक्षले संसदमा छलफल गराउनुपर्ने माग राखेका छन् । कांग्रेसले आफ्नो अडान छाडेर कम्युनिस्टको लाइनमा हिंडेको भन्दै एक पक्ष आक्रोशित बन्दा बीआरआईमा ऋण ल्याए त्यसको जिम्मा प्रधानमन्त्रीले नै लिने भन्दै संस्थापन पक्ष पन्छिरहेको छ ।
३. सरकारको काममै दुईधार
एक पक्ष काम जे जस्तो भए पनि शेरबहादुर देउवाकै मुख हेरेर सरकार टिकाइ राख्नुपर्ने र गलत कामलाई समेत सही भन्नुपर्ने अवस्थामा रहँदा अर्को पक्ष भने अहिलेको सरकारबाट आशसम्म गर्न नसकिने बताइरहेको छ । सोमबारमात्रै नेता विमलेन्द्र निधिले सरकारले धेरै काम नगर्ने संकेत देखाइसक्दा काम गरोस् भन्नका लागि सहानुभूति समेत नभएको बताएका थिए ।
४. अर्का विरोधी सुनिल शर्मा
मेडिकल व्यवसायी तथा सांसद सुनिल शर्मा सुरुवातदेखि नै कांग्रेसको संस्थागत निर्णयको विरोधमा उत्रिँदै आएका छन् । पछिल्लो समय उनै शर्माले सरकार निरंकुश बन्दै गइरहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलनको आयोजना नै गरेका थिए । जहाँ रवि लामिछानेमाथि सरकारले ज्यादती गरेकोसम्म आरोप लगाएका थिए । यतिमात्र नभई प्रतिपक्षमा हुँदा जीबी राई खोई ? भन्दै नारा लगाएका रमेश लेखक नै गृहमन्त्री बन्दा जीबी खोज्नुपर्छ कि पर्दैन भन्दै आफ्नै दलका नेतामाथि प्रहार गरेका छन् ।
५. रवि प्रकरणमा उही चाल
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको अड्डासारबारे विभिन्न प्रश्न उठेका छन् । मध्यरातमा जबरजस्ती शैलीमा चितवनबाट पोखरा लगिएको भन्दै मानव अधिकार हनन् भएको विषय सार्वजनिक हुँदा शेखर पक्षले प्रश्न उठाउँदा संस्थापक्षबाट गृहमन्त्री बनेका रमेश लेखक भने यो तर्कलाई हावादारी भनिरहेका छन् ।
६. मोहन बस्नेत– अर्का अराजक
पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद मोहन बस्नेतले अर्को अराजक ताण्डव नृत्य देखाइरहेका छन् । आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक पुगेका बेला उनले माओवादीका अर्का सांसद माधव सापकोटालाई गर्धनमुनी रुख पारेर सखाप पार्ने धम्की नै दिएका छन् ।
तर, उत्तेजक भाषण दिएर गाउँ डुलिरहेका यीनलाई कांग्रेसले बोल्न छुट भएकै भरमा उन्मुक्ति दिइरहेको छ । कांग्रेस नेतृत्वले सत्ताको एकलौटी फेरो समात्दा पार्टी भद्रगोल बन्न थालेको छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी त हो । तर, फरक फरक बोलीरहेको दुईजिब्रे कांग्रेसको कुन कुरा पत्याउने ? स्वयं कांग्रेसकै कार्यकर्ता दोधारमा छन् ।
प्रकाशित समय : १२:०८ बजे



















