गृहपृष्ठ अनुकूलन कोषको मान्यताले नेपालमा जलवायु वित्त ल्याउन सहज हुने
अनुकूलन कोषको मान्यताले नेपालमा जलवायु वित्त ल्याउन सहज हुने
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई अनूकूल कोषले आफ्नो नयाँ राष्ट्रिय कार्यान्वयन निकाय (एनआइई) रूपमा छनोट गरेको छ । यसले नेपालमा जलवायु अनुकूलन कार्यक्रमका लागि वित्त ल्याउन सहज हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषजस्ता एनआइईमा अहिलेसम्म विश्वभरका ३४ वटा निकायले मान्यता प्राप्त गरेका छन् । अनुकूलन कोषबाट एउटा परियोजनाबाट एक अर्ब ३५ करोडसम्म प्राप्त गर्न सकिन्छ । अजरबैजानको राजधानी बाकुमा आज सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा एनटिएनसीले सो मान्यता पाएको हो ।
नेपालमा अनुकूलन कोषको रकम ल्याउन, जलवायु अनुकूलनसम्बन्धीका परियोजना निर्माणदेखि कार्यान्वयनका लागि सहज बनाउन अनुकूलन कोषले नेपालमा पहिलोपटक एनटिएनसीलाई छनोट गरेको जलवायु तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा मनिसराज पाण्डेले जानकारी दिए । सन् २०२२ देखि प्रक्रियागत विभिन्न चरण पार गरी एनटिएनसी यो कोषको मान्यताका लागि छनोट भएको बताए । यसअघि एनटिएनसी ‘हरित जलवायु कोष’ बाट राष्ट्रिय मान्यता प्राप्त निकायको रूपमा छनोट भई कार्यान्वयनको अवस्थामा रहेको छ ।
अनुकूलन कोषले विगत १५ वर्षदेखि जलवायु अनुकूलनका परियोजना पहिचान, विकास र कार्यान्वयन गर्नका लागि सक्षम रहेका विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय निकायलाई एनआइईको रूपमा छनोट गर्दै आइरहेको छ । नेपालका लागि एनटिएनसीले अब जिसिएफ र अनुकूलन कोषजस्ता जलवायुका ठूला अन्तर्राष्ट्रिय कोषमा सोझै पहुँच पु¥याउने अधिकार पाएको एनटिएनसीका सदस्य सचिव डा नरेश सुवेदीले बताए ।
“जलवायुजन्य विपद् तथा हानीनोक्सानीको क्षेत्रलाई सम्बोधन गर्न परियोजना ल्याएर कार्यान्वयन गर्न पाउनु नेपालका लागि सुखद पक्ष हो”, सदस्य सचिव डा. सुवेदीले भने, “हाल कोषले हरित जलवायु कोषको सहयोगमा गण्डकी जलाधार क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र आईयुसीएनसँग समन्वय गरेर परियोजना कार्यान्वयन गरिरहेको छ ।”
यो परियोजना समुदाय, पारस्थितिकीय प्रणाली र जलवायु सुशासनको क्षेत्रसँग सम्बन्धित छ । साथै अर्को परियोजना कार्यान्वयनको लागि तयारीमा सहयोग र क्षमता वृद्धि र संस्थागत सुधारका लागि प्रदान गरिने सहयोग कार्यान्वयनको अवस्थामा रहेको एनटिएनसीले जनाएको छ ।
एनटिएनसी नेपालको संरक्षणमा निरन्तर कार्यरत एक स्वायत्त निकाय हो । विगत चार दशक बढीदेखि नेपालको संरक्षण क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । कोषले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयसँग नजिकबाट सहकार्य गर्दै जैविक विविधता संरक्षण र दिगो संरक्षणका कार्यमा निरन्तर काम गर्दै आएको छ । साथै कोषले जलवायु अनुकूलनका योजना निर्माण र प्रभावकारी कार्यान्वनमा जोड दिँदै जलवायुका मुद्दा सम्बोधनका लागि नेपाल सरकारसँगको समन्वयमा काम गर्दै आएको छ ।
प्रकाशित समय : २१:२७ बजे



















