गृहपृष्ठ कृषि र पर्यटन क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नेछ : मुख्यमन्त्री लामा
कृषि र पर्यटन क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नेछ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि र पर्यटनको सम्भाव्यता बोकेका क्षेत्रमा प्रदेश सरकारले लगानी गर्ने बताएको छ । पर्यटन क्षेत्रमा लगानी बढाउन सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई ल्याउन सकिने बताए ।
मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको ऋषेश्वर मन्दिर र गुफा क्षेत्रमा निर्माण गरिएको बुद्धमूर्ति अनावरण तथा प्राण प्रतिष्ठान कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बुढीचौरमा कृषि र पर्यटनको सम्भाव्यता बोकेकाले यसलाई थप विस्तार गर्न प्रदेश सरकारले थप सहयोग गर्ने बताए ।
मुख्यमन्त्री लामाले सोच र आँट गर्न सके यहाँ पर्यटनको विकास तीव्र गतिमा गर्न सकिने उल्लेख गर्दै हेटौँडाको सडक सञ्जालको समस्या समाधानका लागि आगामी बजेटमा सम्बोधन गरिने विश्वास दिलाए । सडक सहज भए यहाँ उत्पादन भएका बेमौसमी तरकारी र दूधजन्य वस्तुहरू बजारीकरण गर्न सहज हुने बताए ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले बुढीचौर पर्यटनको प्रचुर सम्भावना बोकेको वडा रहेको बताए। अघिल्लो वर्षमा प्रदेश सरकारले समपूरकअन्तर्गत बजेट आइरहेको बताउँदै बुद्धमूर्तिको वरपरका क्षेत्रमा थप व्यवस्थित गर्न यसै आवमा पर्यटन आयोजनामार्फत पाँच लाख रकम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलसहित कृषि र पर्यटनको सम्भावना बोकेको वडा रहेको बताए । गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/८१ मा १० लाख बजेटबाट बुद्धमूर्ति निर्माण गरिएको जानकारी दिए।
प्रकाशित समय : २०:५६ बजे



















