गृहपृष्ठ आर्थिक वर्षको तेस्रो महिनामा पनि ओरालो लाग्यो घरजग्गा कारोबार
आर्थिक वर्षको तेस्रो महिनामा पनि ओरालो लाग्यो घरजग्गा कारोबार
भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा जम्मा ३० हजार ५२७ वटा लिखत पारित भएको हो । चालु आर्थिक वर्षको तेस्रो महिनामा घरजग्गा कारोबारमा गिरावट आएको देखिएको छ ।
तथ्यांकअनुसार असोज महिनामा २३ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको लिखत पारित भएको सङ्ख्या बढी भएको देखिएपनि भदौ र असोज महिनामा भने कमजोर भएको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६ र असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गाको लिखत पारित भएको थियो ।
असोज महिनामा सबैभन्दा धेरै सुनसरी इनरुवाको मालपोत कार्यालयबाट ११८५ वटा र सबैभन्दा थोरै ताप्लेजुङको मालपोत कार्यालयबाट २ वटा मात्रै लिखत पारित भएको छ ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ४३ हजार ८३५ वटा र भदौ महिनामा ३२ हजार ७९८ वटा लिखत पारित भएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६ र भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।
घरजग्गाको कारोबारमा कमी आएसँगै असोजमा सरकारको घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकर आम्दानीमा पनि गिरावट आएको छ ।
प्रकाशित समय : १७:३२ बजे



















