global ime bank Long Banner Ad

गृहपृष्ठ द्वन्द्वरहित समाज स्थापित गर्न समावेशी प्रणाली अपनाउनुपर्छ: मन्त्री गुरुङ

द्वन्द्वरहित समाज स्थापित गर्न समावेशी प्रणाली अपनाउनुपर्छ: मन्त्री गुरुङ

द्वन्द्वरहित समाज स्थापित गर्न समावेशी प्रणाली अपनाउनुपर्छ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताएका छन् ।

रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राखे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि यहाँ एक सय २३ भाषाभाषी र एक सय २७ भन्दा बढी जातजाति रहेको बृहत् देश हो । यी सबै समुदाय, धर्म, भाषाभाषिप्रति राज्यको समान पहुँच स्थापित गर्ने र अपनत्व महसुस गराउने उद्देश्यले सङ्घीय प्रणाली ल्याइएको उनले स्पष्ट पारे ।

यद्यपि हालसम्म राज्यमा समावेशीको अभ्यास भए पनि समानुपातिक समावेशी हुन अझै बाँकी रहेको उनको भनाइ छ । “समाजमा द्वन्द्व व्यवस्थापन गर्न पनि समावेशिता आवश्यक छ”, मन्त्री गुरुङले भने “अहिले हामीले समावेशी मात्रै बनाएका छौँ, समानुपातिक बनाउन सकेका छैनौँ ।”

रेडियो नेपालमा हालसम्म २४ वटा राष्ट्र भाषामा समाचार सेवा प्रदान गरिँदै आइएकामा आजदेखि दनुवार भाषा थपगरी २५ वटा भाषा समाचार सेवा शुभारम्भ गरिएको हो । मन्त्री गुरुङले समावेशी भाषाको पहुँच र विस्तारमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउँदै सरकारको एक सयदिने कार्ययोजनाभित्र यो एउटा महत्त्वपूर्ण कार्यसम्पादन भएको दाबी गरे ।

मन्त्री गुरुङले रेडियो नेपाल जनताको सूचनाको मूल स्रोत भएको र यसलाई समयसापेक्ष परिमार्जन गर्ने गृहकार्य भइरहेको जानकारी गराए। दनुवार भाषाको प्रसारण शुभारम्भ कार्यक्रममा सरस्वती दनुवारको आवाजमा प्रत्यक्ष समाचार प्रसारण गरिएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दनुवार भाषाको समाचार सेवा प्रसारणले समग्र दुर्लभ दनुवार समुदायको भाषा, संस्कृति र इतिहास संरक्षण हुने आधार बनेको बताए। साथै दनुवार समुदायको आत्मसम्मान र पहिचानसमेत यस सेवाले स्थापित गर्नसक्ने सचिव अर्यालले धारणा राखे ।

सचिव अर्यालले सरकार मातहतका गोरखापत्र दैनिकमा ४४ वटा समावेशी समाचार, नेपाल टेलिभिजनमा सात भाषामा समाचार सेवा, राष्ट्रिय समाचार समिति(रासस)मा अवधी भाषा, नेपाल भाषा र मैथिली भाषामा पनि सेवा शुभारम्भ गरेको जानकारी दिए ।

कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले रेडियो नेपालमा दनुवार भाषाको सेवा प्रसारणले दनुवार समाजलाई एकतामा सूत्रबद्ध गर्न मद्दत गर्ने बताए । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले विभिन्न भाषाभाषीलाई जोगाउनु र राज्यको पहुँचसम्म पुर्‍याउन आयोगले पहल गर्दै आएको उल्लेख गर्दै भाषा संरक्षण र सम्वद्र्धनका लागि सरकारले तत्काल भाषा सर्वेक्षण गर्न आवश्यक भएको बताए।

दनुवार जागरण समितिका महासचिव चेतनारायण दनुवारले नेपालमा हालसम्म ५० हजारको हाराहारीमा दनुवार भाषा बोल्ने समुदाय रहेको बताउँदै लोपोन्मुख भाषा जर्गेना गर्न रेडियो नेपालले महत्वपूर्ण कार्य शुभारम्भ गरेकामा खुसी व्यक्त गरे। उनले दनुवार भाषा भूगोलअनुसार फरक भएकाले थप अध्ययनगरी प्रभावकारी सेवा प्रसारण गर्न सुझाव दिए।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दनुवार भाषामा समाचार सेवा प्रसारणमार्फत समुदायको समस्या सुन्ने र सुनाउने सहकर्मीको भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु