गृहपृष्ठ एक हजार ९१ खाद्य उद्योग र व्यवसायी कारबाहीमा
एक हजार ९१ खाद्य उद्योग र व्यवसायी कारबाहीमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १ हजार ९१ वटा खाद्य उद्योग र व्यवसायीलाई कारबाही गरेको छ । ती उद्योग र व्यवसायीले मापदण्ड विपरीत काम गरेको अनुगमनमा भेटिएपछि विभागले कारबाही गरेको हो । विभागले असोज १ देखि २२ सम्म १ हजार ९१ वटा खाद्य उद्योग र व्यवसायीको निरीक्षण र अनुगमन गरी कारबाही गरेको जनाएको छ ।
विभाग तथा मातहतका कार्यालयहरूबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थहरूको नियमित एवं संयुक्त टोली खटाई अनुगमन गरिरहेको छ । चाडपर्व लक्षित अनुगमन टोलीले ती उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गरी कारबाही गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
उनका अनुसार १ हजार ९१ वटा खाद्य उद्योग एवं व्यवसायी मध्ये ५२४ वटा खाद्य बजार, २६९ वटा खाद्य उद्योग र २९८ वटा होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गरिएको थियो । त्यसैगरी मुलुकभरबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम १५७ वटा नमुना संकलन गरिएको छ । खाद्य स्वच्छता सर्भिलेन्सका लागि १५१ वटा नमुना संकलन गरिएको छ ।
३५६ वटा नमुना विश्लेषण गरिएकोमा ७ वटा नमुनाको विश्लेषण प्रतिवेदन प्रतिकुल पाइएको प्रवक्ता महर्जनले जानकारी दिए । निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबलमा विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका २३ लाख ९६ हजार ९६२ मूल्य बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको उनले बताए ।
असोज १६ मा विभागले आफ्नो परिसरमा रहेको मोवाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी वजार अनुगमन निरीक्षण तथा स्थलगत खाद्य परीक्षण कार्यको सुरु गरेपछि प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घिउ, पेय पदार्थलगायत विभिन्न खाद्य पदार्थ गरी ९० वटा नमुनाहरूको स्थलगत चेकजाँच गरी प्रारम्भिक प्रतिवेदन अनुसार प्रतिकूल नमुनाहरू उपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही चलाएको उनले बताए ।
महर्जनका अनुसार खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित कार्य गरेका करिब ७ वटा खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ । निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन र मापदण्ड २०७४ बमोजिमका मापदण्डहरू र अभिलेख नपाइएकोले उक्त स्थान शिलबन्दी गरिएको छ ।
विभागले नयाँ बानेश्वरमा रहेको अर्जुन डेरी प्रालिलाई असोज ६ मा शिलबन्दी गरी ढुसी लागेको बटर, घिउ र चिज स्थानीय जानप्रतिनिधिको रोहवरमा २४० केजी बटर, २५ केजी चिज र ४४ केजी घिउ नष्ट गरिएको छ । असोज ७ मा प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, गोदावरीमा शिलबन्दी गरिएका ९५ केजी नक्कली घिउ स्थानीय प्रतिनिधिको रोहवरमा नष्ट गरेको थियो ।
भदौ २९ गते प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल–९, काठमाडौंको घिउको नमुना विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा असोज १० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रोहवरमा ८० केजी घिउ र ३० केजी नौनी नष्ट गरिएको थियो । त्यसैगरी विभागका अनुसार दुग्ध उद्योगबाट उत्पादन भएका प्रशोधित दूधमा सोडाको उपस्थिति समेत मोवाइल फुड ल्याव भ्यानमा परीक्षण गर्दा पाइएकोले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम कारबाही प्रक्रिया बढाइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले सम्पूर्ण खाद्य व्यवसायीहरूलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री वतरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद बिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसीजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ । ऐनले निर्देशित गरे बमोजिमका कर्तव्यहरू सबै खाद्य व्यवसायीले पालना गर्न समेत अनुरोध गरेको छ ।
चाडपर्वमा पनि बजार अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वमा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । विभागले काठमाडौं उपत्यकाभित्र मोबाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थहरूको निरीक्षण तथा अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायहरूको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच गरी कारबाही गरेको छ ।
चाडपर्वको बिदामा पनि विभागले बजार अनुगमन गर्ने विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । बिदामा उपभोक्ताबाट गुनासो आएमो तत्काल सम्बोधन गर्ने गरी चाडपर्वको छुट्टै अनुगमन टोली खटाएको उनले बताए । उपभोक्तालाई बजारमा सामान खरिद गर्दा अखाद्य वस्तु भेटिएमा विभागलाई गुनासो गर्ने सक्ने उनको भनाइ छ । चाडपर्वको बिदामा उपभोक्ताको गुनासोको आधारमा अनुगमन हुने महानिर्देशन कर्णले जानकारी दिए ।
प्रकाशित समय : २१:३७ बजे



















