गृहपृष्ठ सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुपर्ने बताएका हुन ।
मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।
कार्यसम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले भने, “निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ । एक जनाको प्रयास मात्रै पर्याप्त हुँदैन । सामुहिक प्रयासबाट हामी उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम हुनेछौं ।”
सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको एक सय ६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिए ।
सो अवसरमा उनले नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गरे । ‘डिजिटल नेपाल फ्रेमवर्क’को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिए । त्यस्तै, सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ)सम्बन्धी योजनलाई चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजाने गरी काम गर्न उनको निर्देशन छ ।
त्यस्तै, हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे, मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठबीच पनि कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमरध्वज लामा, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष सीमरजङ्ग शाह, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्का, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी (दिनेशराज दाहाल), नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)बीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।
प्रकाशित समय : १५:१४ बजे



















