global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सर्वोच्चका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट

सर्वोच्चका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट

सर्वोच्चका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट

सर्वोच्च अदालतका सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गर्दै सर्वोच्चमै रिट परेको छ । पर्साको जगरनाथपुरका अनिलकुमार साह र धनुषाको नगराइनका विवेक चौधरीले शुक्रबार दायर गरेको रिटमा सर्वोच्चले सोमबारको पेसी तोकेको छ ।

नेशनल ल कलेजका कानुन संकायका विद्यार्थीद्वय साह र चौधरीले अन्तर्राष्ट्रिय रूपमा पनि सर्वोच्च अदालतका सुनुवाइ प्रत्यक्ष प्रसारण हुने गरेको भन्दै त्यसले नागरिकलाई न्यायिक प्रक्रियासँग नजिक पुर्‍याउने र सुनुवाइको स्वच्छता पनि कायम हुने जिकिर गरेका छन् ।

अदालत सार्वजनिक संस्था भएको तथा खुला सुनुवाइ गर्ने अदालतले खुला सञ्चारलाई स्वीकार गर्नुपर्ने र खुला त्यसलाई स्वीकार गर्दा प्रत्यक्ष प्रसारण समेतलाई स्वीकार गर्नुपर्ने पनि रिटमा जिकिर गरिरहेको छ ।

“वर्तमान समयमा, प्रविधिको तीव्र विकासले जनताको पहुँच र सचेतना विस्तार गर्न विभिन्न सम्भावनाहरू खुला गरेको छ । संसारभरका धेरै देशमा सर्वोच्च अदालतका सुनुवाइहरूलाई प्रत्यक्ष प्रसारण गर्ने अभ्यासले न्यायिक प्रक्रिया पारदर्शी र पहुँचयोग्य बनाएको छ,” रिटमा भनिएको छ, “सार्वजनिक सरोकारको विषयमा न्यायालयको सुनुवाइमा नागरिकहरूले प्रत्यक्ष रूपमा सहभागी हुन र न्यायिक प्रक्रियामा देखिएको पारदर्शिताबाट लाभ उठाउन पाउनु लोकतान्त्रिक समाजको एउटा महत्त्वपूर्ण पाटो हो ।”

रिटमा नेपालमा पनि मौलिक हकअन्तर्गत सूचनाको हक र सम्मानपूर्वक जीवनयापनको हकलाई प्रवर्द्धन गर्ने सन्दर्भमा न्यायालयको सार्वजनिक सुनुवाइलाई सबै नागरिकले सजिलै सुन्न पाउने वातावरण सिर्जना गर्नु अत्यावश्यक भएको उनीहरूको तर्क छ ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु