गृहपृष्ठ व्यवस्था पल्टाउने हस्तीहरु ओझेलमा, रवि–बालेन किन बन्दैछन् युवाको भरोशा ?
व्यवस्था पल्टाउने हस्तीहरु ओझेलमा, रवि–बालेन किन बन्दैछन् युवाको भरोशा ?
नेपाली राजनीतिको सबैभन्दा जोखिमपूर्ण अवस्थामा कोही छन् भने ति पुराना दलको दास्रो र तेस्रो तहका नेताहरु हुन् । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेर पनि आफ्नै नेतृत्वका कारण यथास्थितिमा खुम्चिएर बसेका उनीहरु जनताको प्रश्नको पेलानमा मात्रै छैनन्, नयाँ शक्तिको मार पनि उत्तिकै खेपिरहेका छन् ।
नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा दरिलो विगत र फराकिलो वर्तमान बनाएकी रामकुमारी झाँक्री अहिले आएर भने अलमलमा छिन् । समकालिन राजनीतिमा प्रखर र निर्धक्क बोल्न सक्ने महिला नेतृको अग्रसूचीमा झाँक्री छिन् । पछिल्लो समय उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध छिन् । तर आफ्नै नेता कार्यकर्ताले उनलाई नेतृत्व तहमा स्वीकार्न चाहेनन् । पार्टीको उपाध्यक्ष पदमा चुनाव लडेकी उनी जयन्ती राईसँग पराजित भइन् । त्यसयता मिडियामा दिइरहेका अन्तर्वार्तामा आफ्नै विगतलाई फर्किएर हेरिरहेको भावमा प्रस्तुत भएकी छिन् । यो उनको भावुकतामात्र होइन, हिजो जीवनका प्रारम्भिक समयदेखि खर्चिएको ऊर्जा, उत्साह र उमंग प्रतिको विस्मात जस्तो पनि देखिन्छ ।
अवसरका हिसाबले एकपटक मन्त्री भएकी उनी अब न दल कि भएकी छिन्, न युवा कि । सहरी विकास मन्त्री भएर सरकारमा पुग्दा आशातित परिणाम देखाउन सकिनन् । त्यसपछि उनीप्रतिको आम विश्वास झनै टुट्यो । एमालेबाट विभाजित भएर फरक पार्टी गठन गर्दा माधवकुमार नेपाललाई हातै समाएर निर्वाचन आयोगको ढोकासम्म पुर्याएकी उनी पछिल्लो समय भने आफ्नै नेतृत्वप्रति बढी गरम र एमालेप्रति नरम हुँदै आएकी छिन् । पार्टी विभाजन गलत थियो भन्ने आशयको अभिव्यक्ति दिँदै हिडेपछि पार्टीको उपाध्यक्षका लागि उनलाई नेता कार्यकर्ताहरुले पत्याएनन् ।
हिजो प्रहरीको लाठी खाँदै व्यवस्थाका लागि दिएको योगदान अहिल धुमिल भएको छ । युवा पुस्ताको नेतृत्वका रुपमा हेरिएकी रामकुमारीकै भविष्य अन्यौलमा छ । त्यसमा कति उनी आफै र कति उनको नेतृत्व जिम्मेवार छ ।
यही परिस्थितिको अर्को उदाहरण हुन्, नेकपा एमालेका नेता योगेश भट्टराई । कुनै समय उनको रापताप पनि कम थिएन । एमालेभित्रै पनि विद्रोही देखिने उनलाई भोलिको नेतृत्वका रुपमा हेरिएको थियो । तर नेकपाकालिन अवस्थामा माधवकुमार नेपालको पक्षमा उभिए । पार्टी विभाजनका बेला दश बुँदे सहमति गर्दै एमालेमै बसे । तर उनीहरुलाई ओलीले सौतेलो व्यवहार गर्न छोडेनन् । पछिल्लोपटक बनेको ओली नेतृत्वको सरकारमा उनी पनि मन्त्री हुनेको सूचीमा थिए । तर अन्तिममा समयमा ओलीले उनको नाम काटिदिए ।
अहिले उनी न पार्टीको आफ्नो हुन सके, न युवाको । पुराना पार्टीप्रति युवामा देखिएको आक्रोशको घानमा उनी छन् । अवसरका हिसाबले एकचोटी मन्त्री भएका उनी गाली खाने हिसाबले पुराना शीर्ष नेतृत्वकै हाराहारीमा छन् । अहिले अध्यक्ष केपी शर्मा ओलीलाई फकाएर विगतको तुष मेट्ने क्रममा रहेपनि सफल भएका छन् । युवाको विश्वास र मुद्दा पनि अब लगभग उनको हातबाट खोसिएको छ ।
कुनै समय नाम नै ब्राण्डजस्तो भएका काँग्रेसका महामन्त्री गगन थापा पनि यसको ज्वलन्त उदाहरण हुन् । व्यवस्था पल्टाउन र राजसंस्था ढाल्न सडकमा ढुंगा हान्नेदेखि दरबारअघि आन्दोलन गर्ने युवाहरुको पहिलो पंक्तिमा गगन पनि थिए । गणतन्त्रका लागि उनले दिएको योगदान तारिफयोग्य छ । तर पनि साख गुमेको छ । भलै योगेश र रामकुमारीभन्दा अलि चल्तापूर्ता देखिएका उनी पार्टीभित्रै लड्ने अवस्थामा छन् ।
लोकतान्त्रिक पार्टी भएकै कारण पार्टीभित्र असहमति राख्न र बोल्न पाउने सुविधा छ । तर पनि सभापति शेरबहादुर देउवाले उनलाई पेल्न कुनै कसर बाँकी राखेका छैनन् । यो पटक भने आगामी निर्वाचनदेखि पार्टी एक्लै चुनावमा होमिने आफ्नो एजेण्डा पास गराएर उनी केही सन्तोषको श्वास फेरिरहेका छन् । तर पनि पार्टीका कार्यकर्ता भन्दा पर आमजनतामा उनीप्रति त्यति सारो लगाव छैन । पछिल्लो समय सहकारी विवादमा रवि लामिछानेसँग एकपछि अर्काे भिडेन्तमा उत्रिएपछि झन उनी आलोचनाको शिकार बनेका छन् । अहिले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङ रविको जस्तो सहकारी ठगीमै मुछिएपछि आशातित तरिकाले नबोलेपछि पुनः आलोचनामा परेका छन् । तथापी भोलिको नेतृत्वका लागि भने उनलाई अझै पनि आश मारिएको छैन ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । पुराना दलहरुमा दोस्रो तहका यस्ता थुप्रै नेता छन्, जो ‘भिरको चिन्डो उधो न उभो’ कै अवस्थामा छन् । उनीहरु यस्ता पात्र हुन् जसले जीवनका थुप्रै रहरहरु यो आन्दोलनलाई बुझाएर, निजी चाहना बिर्सिएर देशमा उथलपुथल गर्छु भनेर लागि परे । तर एउटा आन्दोलनबाट उठेका उनीहरुमाथि यति ठूलो मार परेको छ कि, कि त अझै संघर्ष, कि त हात उठाएर हिड्नुपर्ने अवस्था आउँदैछ । पार्टी छोडौँ यतिका वर्ष रगत पसिना सिँञ्चिएको छ कसरी छोड्नु । नछोडौँ न नेतृत्व सुधार्न सकिन्छ न नेतृत्व गर्ने अवसर नै पाउने अवस्था बन्दैछ । बरु विद्रोह गर्न नसकेको भन्दै नयाँ शक्ति र युवाहरुको समेत प्रहारमा उनीहरु नै परेपछि दोहोरो मार खेप्नुपर्ने अवस्था छ ।
हिजो व्यवस्था परिवर्तनका लागि लडे । काम गर्छु भन्ने हुटहुटी पनि छ । तर दलीय संरचनाभित्रको जंजिरले उनीहरुलाई सहजै अवसर पाएर पनि परिणाम दिन सक्ने अवस्थामा पुर्याएको छैन । आमजनताले स्वतन्त्र रुपम उदाएका बालेन र स्वतन्त्र पार्टी नै बनाएर उठेका रवि लामिछानेहरु जस्तो एक्सन ओरेन्टेड भएर काम गरेको हेर्न चाहन्छन् । तर दल भित्रका आफ्नै सीमा र परिबन्धले उनीहरुलाई त्यो वातावरण पनि दिँदैन । फलतः उनीहरुबाट विस्तार युवाहरुको मुद्दा र भरोशा खोसिएर रवि–बालेनको हातमा पुग्दैछ ।
‘यिनीहरुको व्यक्तिगत स्वार्थका कारणले आजको अवस्था आएको हो ’, राजनीतिक विश्लेषक प्रा.डा.उद्धव सिग्देलले भने, ‘कहिले शिर्ष नेतृत्वको नजिक पुगेर स्वार्थपूर्ति गर्न खोज्ने, कहिले उनीहरुकै विरोध गरि स्थापित हुन खोज्ने विरोधाभाष शैलीकै कारण स्खलित हुन अवस्थामा पुगेका हुन् ।’
हुनत, राजनीति नै नाफाका लागि गरिने विषय होइन । समय र परिस्थितिसँगै नयाँ नेतृत्व जन्मिनु स्वभाविक हो । जेल नेल भोगेकै कारण अथवा योगदान गरेकै भरमा सबैथोक पाउनुपर्छ भन्ने मान्यता पछिल्लो समय भत्किँदैछ । तर काम गर्न पनि नपाउने र गाली पनि खानुपर्ने यो अवस्थाले उनीहरुलाई मर्माहतमात्रै बनाएको छैन, त्यही जगमा उभिएर निराशाको खेती गर्नेहरुलाई समेत फाइदामा पुर्याएको छ । जसले देशलाई चाहिने नेतृत्व विकास गर्नेभन्दा पनि चटक देखाउने व्यक्तित्व हावी गराउँदै योगदानको समेत गलत व्याख्या भइरहेको छ ।
प्रकाशित समय : १३:१७ बजे




















