global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बन्द भए चितवनका इट्टा उद्योग

बन्द भए चितवनका इट्टा उद्योग

बन्द भए चितवनका इट्टा उद्योग

गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

नेपाल इट्टा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एक पटक इट्टा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । उनले भने, “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौ मजदुरको रोजिरोटि बन्द भएको र करोडौं रुपैंया उद्योगले नोक्सान बेहोरेको बताए।

चितवनको इट्टा राम्रो इट्टाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इट्टा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इट्टा ल्याएर बिक्री वितरण गरिँदै आएको छ । सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिशपर्धा हुनु, बाहिरबाट ल्याईएका कम गुणस्तरका इट्टा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानियले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इट्टा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउनुहुन्छ । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इट्टा उद्योग सञ्चालनमा रहेका थिए ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु