global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी 

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी 

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी 

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित  भएका छन । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा.डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

लामो समयदेखि कलेजका अध्यक्ष रहेका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराए। पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्व देखेर साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै उनले भने,‘अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ । पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु ।’

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्रा.डा. अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटि, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताए। ‘तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्रा.डा. अन्सारीले कलेज स्थापनामा योगदान पुर्याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भने।

उनले नेपालको मेडिकल शिक्षालाई ध्वस्त बनाउन खासगरी निजी क्षेत्रबाट सञ्चालन भइरहेका मेडिकल कलेजहरु विगार्न ठूलै सड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध सशक्त ढंगले अगाडी बढ्नु पर्ने जिकीर गरे। ‘अहिले नेपालमा सबै विद्यार्थीहरु विदेश जाउन् नेपालमा नपढुन् भनेर लागेका छन् । नेपाली मेडिकल कलेज बन्द हुन् भनेर राज्य संयन्त्रनै लागेका छन् त्यसलाई चिर्न हामी एकबद्ध भएर अगाडी बढ्नु पर्छ ।’ पछिल्लो समय चिकित्सा शिक्षा आयोगले पिजीहरुलाई दिने भत्ता सुविधा बढाउन दवाव दिएको तर, शुल्क बढाउन नदिएकाले सम्पूर्ण नीजि मेडिकल कलेजहरुले यस पटक पीजीको सिट संख्या नमागेको जिकीर गरे। आयोगले पीजीलाई मासिक ५० हजार भत्ता दिनुपर्ने निर्णय गरेपनि २३ लाख मात्र शुल्क लिएर ३ वर्षसम्म पढाउन नसकिने भन्दै प्रा.डा.अन्सारीले एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेण्टल कलेज अफ नेपाल’ले भनेअनुसार शुल्क लिन पाउनु पर्ने बताए

यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा. भोला रिजालले संस्थापक अध्यक्ष डा. सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्रा.डा.अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन संहालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताए।

अर्का सञ्चालक सदस्य तथा डाइरेक्टर डा. साविहा यासमिनले कलेज व्यवस्थापनको जिम्मेवारीमा आफुहरु रहेपछि संस्थालाई सही ढंगले सञ्चालन गर्न सम्पूर्ण शेयर सदस्य, डाक्टर, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेकोले आवश्यक सल्लाह सुझावहरु दिन अनुरोध गरे। उनले कलेजको ३ वर्षयता सुधारका धेरै कामहरु भएको बताउँदै भने,‘हामीले ३ वर्षको अवधिमा व्यवस्थापकीय र स्वास्थ्य सेवामा सुधार गरेका छौं । फिलिप्सको क्याथ ल्याब सुरु गर्न गइरहेका छौं । सिटी र एमआरआई पनि सुरु गर्न गइरहेका छौं । डेण्टलको नयाँ भवन सुरु भइसकेको छ । नेपाल मेडिकल कलेजमा काम गर्दा मैले जुन साथ र सहयोग पाइरहेको छु भविष्यमा पनि पाउने आशा गरेको छु ।’

साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । २०५४ साल फागुन २५ गते स्थापना भएको यस कलेजमा मेडिकल शिक्षाका एमविविएस, विडिएस, एमडिरएमएस, एमडिएस, विएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवा तर्फ कलेजले नविनतम स्वास्थ्य उपकरण सहित विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने जनाएको छ ।

 

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु