गृहपृष्ठ ‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’
‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् ।
ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताए ।
प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे ।
“राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।” प्रधानमन्त्रीले भने, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । ”
प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गर्नुभएकामा आभार प्रकट गर्दै उनको दीर्घायुको कामना गरे । साथै उनले समाजका विविध क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरे ।
प्रकाशित समय : १७:०५ बजे




















