गृहपृष्ठ ओलीविरुद्ध किन फैलिँदैछ यति धेरै आलोचनाको भाव ?
ओलीविरुद्ध किन फैलिँदैछ यति धेरै आलोचनाको भाव ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो हालतमा कसरी पुगे ? जान अन्जान रुपमा उनीमाथि यति धेरै घृणा भाव किन फैलिँदैछ । कुनैबेला राष्ट्रवादी नेताको छबि बनाएर जनताको नजरमा हिरो बनेका ओली अहिले आएर बालेनसँग पनि रक्षात्मक बन्नुपर्ने अवस्था कसरी आईपर्यो ? हिजो ओलीका विरुद्ध कोही बोले रक्षा कवज बन्न तयार हुने पार्टीका कार्यकर्ताबाहेक पनि लाखौैं समर्थक थिए । तर अहिले ओली जसका विरुद्ध बोल्छन्, उसैमाथि जनताको समर्थन किन बढ्छ ? ओली बालेनविरुद्ध गए हजारौं समर्थक घटे । ओली कुलमानविरुद्ध गए, हजारौं युवा सडकमा आए । यसमा पुराना राजनीतिक दलप्रति जनताको हेर्ने नजर मात्रै फेरिएको हो कि, ओलीका छिट्टै आफ्ना अवगुणहरु छन्, जसले अलोकप्रियताको ग्राफ बढाइरहेको छ ? ओलीले सुन छुँदा पित्तल, गुण गर्दा बैगुण बन्ने अवस्था कसरी बन्छ ? यो दशकमै सबैभन्दा शक्तिशाली उदय गरेका ओलीको अहिले शक्तिको प्रमुख बागडोरमा हुँदा पनि यति कमजोर हैसियत कसरी बन्न पुग्यो । ओली भन्न बित्तिकै कान थुन्नेहरुको जमात किन बढ्दैछ ?
आम मानिसहरुले सबैभन्दा बढी घृणा गर्ने कुनै विषय छ भने त्यो भ्रष्टाचार हो । अझ त्यसमा पनि राज्य सत्तामा बसेर कसैले भ्रष्टाचार गर्छ भने, जनता ‘टोटल्ली’ त्यसको विपक्षमा उभिने अवस्था बनेको छ । किनकि देश पछि पर्नुको मुख्य कारण नै भ्रष्टाचार हो । भ्रष्टाचारकै कारण आज देश धुजा धुजा भएर च्यातिएको अवस्थामा छ । मरेको सिनोलाई गिद्धले लुछेजस्तै चारै तिरबाट भ्रष्टाचारीहरुले लुछिरहेका छन् । वडामा भ्रष्टाचार, पालिकामा भ्रष्टाचार, जिल्लामा भ्रष्टाचार, प्रदेशमा भ्रष्टाचार र केन्द्रमा भ्रष्टाचार । सरकारी काममा भ्रष्टाचार, नेताका नाममा भ्रष्टाचार । व्यापारीका ठाममा भ्रष्टाचार । तेलमा भ्रष्टाचार, जेल मा भ्रष्टाचार । पानीमा भ्रष्टाचार, वालुवा खानीमा भ्रष्टाचार । ठेक्कापट्टामा भ्रष्टाचार, सरुवा बढुवामा भ्रष्टाचार ।
सरकार, संसद्, पार्टी, प्रशासन, न्यायालय, देवालय, विद्यालय, विश्वविद्यालय सबैतिर भ्रष्टाचार । नेता, व्यापारी, लेखक, पत्रकार, डाक्टर, वकिल, अभियन्ता र पेशाकर्मी सबैबाट भ्रष्टाचार ।
यो भ्रष्टाचार भन्ने चिज यस्तो हो, जो देशको दूश्मन हो । तर अधिकांशले आफुले गर्दा राम्रो र अरुले गर्दा नराम्रो भन्छन् । अर्थात् जसले भ्रष्टाचारको विरोध गर्छ । उसले भ्रष्टाचार गरेको फेला पर्छ । बाेलीमा प्रधानमन्त्री ओलीका लागि त झन भ्रष्टाचार दुश्मन जस्तो हो । उनी पहिलो पटक प्रधानमन्त्री भएका बेला त, प्रत्येक मन्त्रालयका बाहिर, म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचारीको मुख पनि हेर्दिन्न भन्ने साइनबोर्ड नै टाँसिएको थियो । तर अहिले ओलीलाई सबैभन्दा आलोचित पार्ने र जनतामा घृणा फैलाउने हतियार नै उनी भ्रष्टाचारी हुन र भ्रष्टाचार गर्छन् भन्ने आरोपले हो । तर यस्ता आरोप बिषयमा ओली भन्छन्, ‘कसैले भ्रष्टाचार गरेको भन्छ भने, चित्रगुप्तालाई समेत बयान दिन तयार छु ।’
तथ्यहरुलाई हेर्दा, ओली आफैले भ्रष्टाचार गर्छन भन्ने कुरा कतै पुष्टि भएको छैन । न उनको परिवारमा कसैले भ्रष्टाचार गरेको छ भन्ने सार्वजनिक भएको छ । तर भ्रष्टाचारीको संरक्षण गर्छन् भन्नेकुरामा चाहीँ लगभग दुईमत पनि देखिँदैन ।
अब केही त्यसका तथ्यलाई हेरौं ।
नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो संगठित भ्रष्टाचारको आरोपमा टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी भएको थियो । प्रहरीले पक्राउ गर्न उनलाई खोजिरहेको थियो । किनकि उनीविरुद्धका आधार प्रमाणहरु फेला परेका थिए । जसकै कारण उनी अहिले एक बर्षभन्दा बढी समयदेखि जेलमा छन् । तर त्यतिबेला ओलीले भने, ‘यो त षड्यन्त्र भयो । उहाँले त्यस्तो गर्नुभएको छ भन्ने मलाई लाग्दैन । उहाँ हिड्दाहिड्दै समाउनुपर्ने मान्छे होइन भन्दै बचाउ गरेपछि ओलीको आलोचना बढ्यो।’
जबकि त्यतिबेला ओली आफैले खुलासा गरे । यो विषय मलाई चार बर्षअघि नै जानकारीमा थियो । तर जानकारी भएर पनि कारबाही प्रक्रिया किन अघि बढाएनन् र किन कसैलाई पक्राउ गरेनन् भन्ने विषयले समेत ओली भ्रष्टाचारप्रति उदार छन् भन्ने अर्थ लाग्यो । पछि प्रचण्ड प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु पक्राउ परेका थिए ।
भ्रष्टाचारलाई संस्थागत गर्न, भ्रष्टाचारीलाई ऊर्जा प्रदान गर्न र संरक्षण पाईहालिन्छ भन्ने अनुभव गराउृन ओलीको कतै न कतै भूमिका देखिन्छ । एमालेकै नेता गोकुल बास्कोटाको ७० करोड घूसमा बाग्रेनिङ गरिएको अडियो बाहिर आएको थियो । अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा नै दिए । तर त्यत्रो अडियो बाहिर आउँदासमेत गोकुल बाँस्कोटामाथि कुनै छानबिन र कारवाही भएन । त्यो आवाज आफ्नै हो भनेर बास्कोटाले स्वीकार गर्दा पनि ओलीले यो झुटो हो भनेपछि निकै आलोचना भयो ।
त्यतिबेला गोकुलले ओलीलाई बा मानेकै कारण संरक्षण पाएको भन्दै सार्वजनिक आलोचना नै भएको थियो । त्यसपछि गोकुलले पनि ७० करोड हान्देकै हो, कारबाही गर्न सक्छौं भने गर भन्ने आत्मबल पाए । तथापी यो प्रकरणमा गोकुलले पैसा नै बुझिसकेको भने पुष्टि भएन । तर पैसाको बाग्रेनिङ भने गरेका थिए ।
बालुवाटारको जग्गा प्रकरणमा विष्णु पौडेलको नाम मुछियो । माफियासँग मिलेर सेटिङ मिलाएबापत उनले बालुवाटारमा ८ आना जग्गा उपहारमा पाएको आरोप सार्वजनिक भयो । उनका छोराका नाममा दर्ता भएको जग्गा पछि फिर्ता गर्छु भनेपछि उनी कारबाहीबाट बचे । त्यसअघि नै उनी बुटवलमा सुकुम्बासी बनेर सरकारी जग्गा कब्जा गरेको आरोपमा फसेका थिए । तर ओलीको बलिया काख पाएपछि उनी कहिल्यै कारबाहीको दायरामा आउनु परेको छैन । उल्टै अहिले अर्थको ढुकुटी उनकै काँधमा छ । उनी देशको अर्थमन्त्री छन् ।
यति–ओम्नी प्रकरणमा ईश्वर पोखरेल र भानुभक्त ढकालको नाम जोडियो । त्यसअघि नै ईश्वर पोखरेल पानी ट्यांकीमा भ्रष्टाचार गरेको पैसा लुकाएको आरोपमा आलोचित थिए । तर कोभिडका समयमा मेडिकल सामाग्री खरिद गर्दा ओम्नी समूहसँग मिलेर भ्रष्टाचार गरेको आरोप लाग्यो । जसमा तत्कालिन स्वास्थ्यमन्त्री रहेका एमाले नेता भानुभक्त ढकाल पनि मुछिए । उनीहरुमाथि कुनै छानबिन र कारबाही अघि बढेन । जबकि त्यतिबेला लेखा समितिले ४ अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन पदाधिकारीलाई कारबाही गर्न भनेको थियो । नेपाल ट्रस्टको अध्यक्ष रहेका बेला पूर्वराजपरिवारबाट ट्रस्टमा आएको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा र दरबारमार्गको जग्गा कौडी भाउमा दिएर ठूलो घोटाला गरेको आरोप लाग्यो । तर ओलीले एक कदम अगाडि बढेर कुनै घोटाला नभएको दाबी गरे । छानबिनका लागि सामान्य औपचारिकतासम्म देखाएनन् ।
वाइडबढीमा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको नाम मुछिएको थियो । उनको नाम नै किटेर लेखा समितिले प्रतिवेदन तयार पारेको थियो । ओली बचाउमै उभिए । तर अधिकारी मन्त्री भएकै बेला हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भए ।
२०७७ मा पद्मा अर्याल कृषि मन्त्री भएका बेला मल खरिदमा साढे एक अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । जसमा पद्माको नाम थिएन । ओलीले नै बचाएको आरोप लाग्यो । झापाको गिरिबन्धु टि स्टेटको ३ सय ४३ विघा जग्गाको घोटालामा पनि ओलीसँग अर्याल जोडिएकी छन् ।
यसमा मुख्यतः नियत र प्रक्रियामाथि सर्वोच्चले नै प्रश्न उठाएको छ । ओलीकै पालामा भएको निर्णय उल्ट्याएर फैसला गरेको छ । त्यो निर्णय गलत थियो भनेको छ । ओलीलाई पछिल्लो समय सबैभन्दा बढी लाग्ने गरेको आरोप पनि गिरीबन्धुलाई बेच्ने निर्णय प्रक्रियामा ओलीकै भूमिका छ, र उनकै निकट व्यापारीहरुको चलखेलमा निर्णय भएको थियो भन्दै आलोचना हुन्छ ।
तर एउटा कुरा के हो भने, माथि उल्लेखित पात्र वा आमजनतालाई ओलीले जोगाईरहेका छन् भन्ने कुनै पात्रमाथि कारबाही गर्न सहयोग गरेको भएमात्रै पनि ओलीको स्तरकाे नेता सायद अर्काे हुने थिएन होला । यस्ता काण्ड बाहिर आउनेबित्तिकै बचाउभन्दा पहिला तत्काल छानबिन गर्न तर्फ ध्यान दिएको भएमात्रै उनको लोकप्रियता र विश्वास जनतामा अझ धेरै हुनु थियो । राजनीतिमा लागेर भ्रष्टाचार गर्न खोज्ने नेताहरुले तीनपल्ट सोच्ने अवस्था आउने थियो । समकालिन नेताहरुमा सबैभन्दा बढी फलोअर्स पनि ओलीकै हुनेथियो । तर यो दलदलबाट माथि उठ्न सकेनन र अहिले यो अवस्था आईपर्यो ।
दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हालेका ओलीले ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ।’ भन्ने उद्घोष गरेका थिए । तर त्यसको तीन वर्ष नपुग्दै २०७७ मा भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले नेपाल एसियाकै भ्रष्ट मुलुक र प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भनी रिपोर्ट सार्वजनिक गरेको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहसँगको मुडभेठको मुख्य जड पनि यही भ्रष्टाचारको मसलाबाट सुरु भएको थियो । जुन आज आएर साइबर वारसम्म पुगेर ओलीका हजारौं फलोअर्स घट्ने अवस्थामा पुगेको छ ।
एउटा देशको प्रधानमन्त्रीमाथि यति धेरै वितृष्णा बढेर सामाजिक सञ्जालबाट हजारौंले एकैपटक अनफ्लो गरेको कुरा सम्भवतः नेपालमा पहिलोपटक हो । विश्वमा यसले त्यो देशको प्रधानमन्त्रीका बारे कस्तो सन्देश जाला ? अन्तर्राष्ट्रिय मिडियाहरुले यसलाई कुन रुपले प्रचार गर्लान् ? यो पक्कै पनि सोचनीय विषय हो ।
अहिले यसको रक्षाका लागि जेल नेल बसेर व्यवस्था परिवर्तन गर्दै आएको नेता, जसको आफ्नै लाखौ कार्यकर्ता पंक्ति भएको जनसंगठन र फाउन्डेसन छ, त्यसलाई फलोअर्स घट्दैमा फरक पर्दैन भनिएको छ । तर फरक पर्छ । अहिले धेरै कुराको मापन फेसबुकबाट हुन थालेको छ । व्यक्तिको उदय र पतनको जिम्मेवार सामाजिक सञ्जाल बन्दैछन् । किनकि यो सूचना प्रसारको महत्वपूर्ण माध्यम हो । जुन कुनै मिडिया हाउसको कन्टेन्ट भन्दा चाँडो जनताको हातहातमा पुग्छ । अझ बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेको रास्वपा उदयपछि त सामाजिक सञ्जाललाई निकै महत्वपूर्ण ढंगबाट हेरिएको छ । यदि महत्व नै हुँदैन थियो भने, आफ्ना अध्यक्षको फलोअर्स घट्दै गर्दा एमाले महासचिवले बाढी रोक्न फेसबुकमै लिंक शेयर गरि कार्यकर्तामा सर्कुलर गर्नुपर्ने अवस्था आउने थिएन । पार्टी पंक्ति नै लागेर अभियान चलाउँदै रोकथाममा लाग्नुपर्ने अवस्था आउने थिएन । तर यसको मुख्य जड त बालेन शाह हुन् । सामाजिक सञ्जालकै बलमा एउटा व्यक्तिले लाखौं कार्यकर्ता भएको देशकै ठूलोमध्येको दललाई हायलकायल पारिदिएका छन् । किनकि विषय भ्रष्टाचारसँग जोडिएको छ ।
बालेनका अनुसार ओली भ्रष्टाचारी हुन् । उनले गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणमा १० हजार करोड बढीको घोटाला गरेका छन् । जुनकुरा बालेनले पटकपटक सामाजिक सञ्जालकै माध्यमबाट जनतामा पुर्याइरहेका छन् । जुनकुरा एमाले पंक्ति र ओलीलाई मन परेको छैन । त्योभन्दा अघि उनीहरुबीच सुकुम्बासी बस्ती हटाउने विषयमा टकराव चलेको थियो । हुनत् ओली सरकारमा थिएनन् । तर सुकुम्बासी बस्ती हटाउन खोज्ने बालेनको कदमविरुद्ध ओली उभिएका थिए । फलतः बालेनले ओलीलाई भ्रष्टाचारी करार गर्न छोडेनन् । त्यो विवाद न्यूरोडमा आएर झन छताछुल्ल भयो । ओलीकै निर्देशनमा एमाले नेतासमेत रहेका तत्कालिन भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठले सडक विभाग लगाएर अवरोध गरेको निष्कर्ष बालेनले निकाले । किनकि महानगरभित्र पनि बालेनविरुद्ध एमालेकै वडाध्यक्ष चिनिकाजी महर्जन विरोधमा उत्रिएका थिए ।
त्यसयता, टुकुचा हुँदै टुँडिखेल र धरहराको विषयमा समेत ओली–बालेन टकराव छ । ओलीकै पालामा पुनर्निर्माण थालिएको धरहरालाई कंक्रिटका रुपमा खडा गरिएको भन्दै बालेनले सेतो टावरको नाम दिए । जसले पनि विवादलाई बढाउने काम गर्यो ।
अहिले लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माका विषयमा बालेनले एकपछि अर्काे स्टाटस लेखिरहे । शर्माको घरमा बन्दक बनाएर श्रमिकका रुपमा राखिएकी बालिकालाई महानगरले उद्दार गरेको थियो । महानगरले शर्माका विरुद्ध जाहेरी समेत दिएको छ । तर पक्राउ नगरि ओली सरकारले बचाएको भन्दै बालेनले स्टाटस लेखे । भिड्न आउने कार्यकर्तालाई अली ज्ञान दिन ओलीलाई सार्वजनिक रुपमा सुझाव दिए । सांसद शर्मालाई पक्राउ गर्न लेखिएको स्टाटस एमालेहरुले रिपोर्ट गरि उडाईदिएको भन्दै अर्काे स्टाटस लेखे । त्यसपछि एमाले भर्सेस बालेन वार चलिरहेको छ । ओलीका फलोअर्स ६ लाख ६६ हजारबाट ७७ हजार घटेर ५ लाख ८९ हजारमा सीमित बनेका छन् ।
काठमाडौं महानगरभित्र पनि एमाले भर्सेस बालेनको टकराव चलिरहेको छ । उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्ष मचाराजा महर्जनसहित भिडिरहेका छन् । उनीहरु भिड्नुको कारण सर्वाेच्च अदालतले दिएको खोला किनारको २० मिटरभित्र नपाइने आदेश हो । सर्वाेच्चबाट आएको आदेशले लाखौं विस्थापित हुने र पुनरावोलन हुनुपर्ने पक्षमा एमालेहरु छन् । तर बालेनले २० मिटरभित्र कुनै संरचना बनाउन नपाइने सूचना जारी गरेपछि एमालेले संयन्त्र नै बनाएर प्रधानमन्त्रीलाई भेट्नेदेखि महानगरमा प्रतिवाद गर्नेसम्मको काम गरिरहेको छ । जसले पनि ओलीकै व्यक्तिमा असर परिरहेको छ ।
अब यो विषयमा सरकारले पनि कार्यदल बनाउने र महानगर पनि कार्यदल बनाउने भएको छ । अर्थात् समन्वयभन्दा फेरि पनि उनीहरु टकरावमै जान खोजिरहेका छन् ।
ओलीलाई पहिलो गासमै ढुंगा त्यतिबेला लाग्यो जतिबेला सरकारको नेतृत्वमा आउनबित्तिकै ओलीले कुलमान घिसिङ विरुद्ध मोर्चाबन्दी गरे । विद्युत वक्यौतामा व्यापारीहरुलाई राहत हुनेगरि कुलमान घिसिङसँग भिडे । काटिएको विजुली जोड्न लगाए । कुलमानलाई पदबाट निकाल्न खोजे । किनकि सडकमा युवाहरु प्रदर्शनमा उत्रिए । कतिलाई जेल कोचियो । त्यसले पनि ओलीको लोकप्रियतामा ह्रास ल्याउने काम गर्यो ।
पार्टीभित्र पनि ओलीलाई मन नपराउनेको जमात पनि छ । तर पनि करिअर नै सकिने डरले ओलीविरुद्ध जाने आँट कसैले नगर्ने आमरुपमा चर्चा हुन्छ । मन नपरेका नेताहरुलाई भीम रावल नै बनाउँछन् भन्ने भाष्य स्थापित भएको छ । माधवकुमार नेपाल पार्टीमा हुँदासम्म ओलीले पेल्नुसम्म पेलेका थिए । पार्टी नै विभाजन गरेर उनीसहित १० सांसद बाहिरिए । त्यसपछि पेलिने पालो रावलको आयो । आफ्नाविरुद्ध चुनाव लडेको सह्य नभएपछि हुनुपर्छ त्यसपछि रावललाई ओलीले पार्टीभित्र कुनै जिम्मेवारी दिएनन् । चुनावमा टिकटसमेत दिएनन् । आमजनताले ओलीको यो कार्यशैलीलाई समेत मन पराएका थिएनन् । रुपन्देहीमा टिकट नपाएपछि घनश्याम भुसाल पनि माधव नेपालको पार्टीमा जान बाध्य बनेका थिए । अहिले उनी नेकपा एकीकृत समाजवादीको महासचिव छन् ।
अहिले देशमा शक्तिसाली कोही छ भने त्यो ओली नै हुन् । राज्य सत्ता नै उनको हातमा छ । ३ करोड जनताको प्रधानमन्त्री छन् । दुईतिहाईको बहुमत छ । तर बालेन, भीम रावल र कुलमानजस्ता पात्रहरुसँगै भिड्न समय खेर फाल्दा एकातर्फ जनसमर्थन घटिरहेको छ । अर्काेतर्फ यी व्यक्तिहरुको लोकप्रियताले ओलीकै विगतकै छबिसमेत जोखिममा परेकाे छ । हरेक ठाउँमा आफै भिड्न पुग्ने र छुच्चो बोलीकै कारण पनि ओली आलोचित छन् ।
प्रकाशित समय : ११:५३ बजे



















