global ime bank Long Banner Ad

गृहपृष्ठ सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको  विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो ।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती, मझौलेका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायतका सहरमा जाने गरेको छ । सङ्कलित निगुरो गाउँघरबाट नै  बिक्री हुने स्थानीयवासी रमेश विष्टले बताए। विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरबाट नै बिक्री भइरहेको छ ।

हालसम्म यो क्षेत्रबाट करिब दुई हजार पाँच सय निगुरो केजी निर्यात भएको उहाँको भनाइ छ । वन, जङ्गल, खोलाखोल्सी तथा चिस्यान क्षेत्रमा पाइने निगुरो कात्तिक, मङ्सिर महिनासम्म सङ्कलन गर्न सकिने उनले बताए ।

“सडकको पहुँच विस्तारसँगै गाउँघरका कृषिउपजलाई बाहिरका सहर बजारमा सहज भएको छ”, उनले भने, “निगुरो बिक्री होला भन्ने लागेको थिएन । तर अहिले खेर गइरहेको निगुरो बिक्री भइरहेको छ । याममा निगुरो बिक्री गरेर सामन्य रुपमा घर खर्च चलाउने अवस्था बनेको छ ।”

गाउँघरमा सङ्कलन गरिएको निगुरो प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको उहाँले बताए । एक जना कृषकले एक दिनमा ३० देखि ४० केजीसम्म निगुरो सङ्कलन गर्ने उहाँको भनाइ छ । पात भएकोभन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने बताए।

स्थानीयवासीले वर्षात् याम सुरु भएपश्चात् जेठ असारदेखि कात्तिक, मङ्सिर महिनासम्म निगुरो बेच्दै आएका छन् । वन, जङ्गलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेकोे स्थानीयवासी लालबहादुर विष्टले बताए ।

उन्याउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन, जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढीमात्रामा पाइने भए पनि गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् ।

जैविक र मौसमी तरकारी निगुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ । निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवतीलाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ ।

स्थानीयस्तरमा पाइने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ । गाउँपालिकाभित्रका धेरै क्षेत्रमा निगुरो पाइने भनाइ छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु