global ime bank Long Banner Ad

गृहपृष्ठ बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय प्रदेश र स्थानीय सरकारको सहयोगमा पूर्वाधार थप गरिएको हो ।

कालीका भगवती मन्दिर र शिवको विशाल मूर्ति रहेको बाटुलेचौरमा आउने धार्मिक पर्यटकको सहजताका साथै मन्दिर परिसरलाई थप आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।  मन्दिर परिसरमा बरपीपलका चौतारी निर्माण गरिएका छन् ।

बरपीपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको बताउँदै पौडेलले बरपिपल रोप्न चाहनेले प्रतिव्यक्ति वा परिवार १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । मन्दिर परिसरमा एक सय २४ वटा चौतारी रहेको उनले बताए। “शनित्रयोदशीमा एक सय आठ पीपल चौतारी घुम्न र पूजा गर्न स्थानीय र छिमेकी जिल्लाबाट दर्शनार्थीहरु आउने गर्दछन्”, उनले भने ।

मन्दिर परिसरमा सत्तल, दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ९९ लाखको लागतमा भवन निर्माण गरिएको पौडेलले जानकारी दिए । पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट २५ लाख, कुश्मा नगरपालिकाबाट १० लाख विनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा पनि २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले उल्लेख गरे। भगवान् शिवको अग्लो मुर्ति, मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिमतर्फ आकर्षक प्रवेशद्वार, पीपल चौतारी हुँदै प्रवेशद्वारसम्म पदमार्ग, मन्दिरसम्म पुग्न पक्की सडकलगायत पूर्वाधार निर्माण गरिएको छ ।

सदरमुकाम कुश्मा बजारबाट १२ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटक घुम्ने तथा विभिन्न म्युजिक भिडियो र वृत्तचित्र छायाङ्कन गर्ने स्थलका रुपमा परिचत हुँदै गएको अध्यक्ष पौडेलले बताए ।

बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकाले पर्यटन प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले मन्दिर आसपास घरबार र होटल सञ्चालनमा ल्याइएको स्थानीय युगनाथ पौडेलले बताए ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि यहाँ पूजाआजागरी मन्दिर निर्माण गरिएको किंवदन्ती रहेको जानकारी दिए ।

स्थानीय पौडेलका अनुसार संरक्षण अभावमा यहाँका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराइसकेका छन् । मन्दिर रहेको स्थानमा करिब दुई सय वर्ष पुराना संरचना भए विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको जानकारहरुले बताउने गरेका उनले उल्लेख गरे ।

छिमेकी जिल्ला बागलुङको बागलुङ कालिका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढाटाढाबाट दर्शनार्थीहरु पूजापाठका लागि आउने गर्दछन् । बडादसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रिलगायत चाडपर्वमा मेला लाग्ने गर्दछ ।

मेला भर्नका लागि पर्वतको कुश्मा र फलेबास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी आउने गरेको अध्यक्ष पौडेलले जानकारी दिए  यहाँबाट पर्वतको सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपुर्ण, धौलागिरि, माछापुच्छ«ेलगायत हिमशृङ्खला स्पष्ट दृश्यावलोकन गर्न सकिने यसैबीच बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्षको हरितालिका तीजको अवसरमा ‘दोस्रो बाटुलेचौर तीज मेला’ आयोजना गरिएको छ । यही भदौ २१ गते तीजको अवसरमा बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गर्न लागिएको हो ।

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु