काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

2.44K
shares

बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उनले जानकारी दिए ।

अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट दुई लाख ४६ हजार सात सय २३, आव २०७९/८० मा दुई लाख तीन हजार एक सय १० आव २०७८/७९ मा एक लाख ४२ हजार आठ सय आठ र आव २०७७/७८ मा ८५ हजार पाँच सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताए । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उनले उल्लेख गरे ।

मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीका अनुसार गत आवमा १८ हजार एक सय सात जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९/८० मा १३ हजार ९७, आव २०७८/७९ मा नौ हजार सात सय १९ र आव २०७७/७८ मा पाँच हजार चार सय १४ ले आकस्मिक सेवा लिएका उनले जानकारी दिए ।

प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार चार सय २४, आव २०७८/७९ मा ४४ हजार सात सय ८४ र २०७७/७८ मा ३३ हजार एक सय १२ थियो ।

अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा तीन हजार नौ सय ८०, आव २०७९/८० मा तीन हजार आठ सय ५९ र आव २०७८/७९ मा दुई हजार तीन सय १४ थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताए । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा उनले जोड दिए ।

अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले एक सय शय्याको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शय्या सञ्चालन भएरहेको जानकारी दिए । पाँच शय्याको सघन उपचार कक्ष र आठ शय्याको बालसघन उपचार कक्षका लागि छुट्याइएको उनले उल्लेख गरे ।

अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित दुई सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा ज्ञवालीले जानकारी दिए । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मिर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उनको भनाइ छ ।