global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी

लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी

लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी

लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।  प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार होटल व्यवसायीले प्रत्यक्ष रूपमा ६० हजारलाई रोजगारी प्रदान गर्दै आएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले जानकारी दिए ।

यस क्षेत्रमा यहाँ करिब दुई खर्ब लगानी भएको बताए । “लुम्बिनी प्रदेशमा होटल क्षेत्रमा दुई खर्ब बराबरको लगानी निजी क्षेत्रबाट भएको छ”, संस्थापक अध्यक्ष काफ्लेले भने, “कम्तीमा ६० हजारलाई रोजगारी प्रदान गरेका त छँदैछौँ होटल व्यवसाय क्षेत्रबाट राज्यलाई करिब ४० करोड वार्षिक करसमेत भुक्तानी हुँदै आएको छ ।”

पछिल्लो समय भने यहाँको पर्यटन व्यवसाय चलायमान नहुँदा होटल व्यवसायसमेत दबाबमा रहेको उहाँले धारणा राखे । साना, मझौलादेखि तारे होटलसम्मका व्यवसायी मर्कामा परेकाले यस क्षेत्रलाई बचाइराख्न राज्यकोतर्फबाट उचित पुनरुत्थान र राहतको दीर्घकालीन प्याकेज आवश्यक रहेको काफ्लको भनाइ छ ।

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ पर्यटन प्रवद्र्धन नै होटल व्यवसायको मुख्य आधार भएकाले होटल व्यवसायीलगायत सरोकार भएकाहरूले यसतर्फ ध्यान दिनुपर्ने बताए। होटल व्यवयासीले सम्बन्धित जिल्लाका संस्कार र संस्कृतिसहित पर्यटकीय सम्पदाको तस्बिर होटलका कोठा र हलमा राख्ने तथा सम्पदाको नामबाट नामकरण गर्ने अभियान सञ्चालन गरिएको जानकारी र्दिए । मुलुकमा ठूलोमात्रामा रोजगारीको सिर्जना र राज्यलाई कर तिर्दै आए पनि आफूहरूलाई सरकारले गर्ने व्यवहार भने सकारात्मक नभएको अध्यक्ष श्रेष्ठको गुनासो गरे । “हामीले आफ्नोतर्फबाट लगानी, रोजगारी सिर्जना र राज्यलाई कर तिर्न इमान्दार प्रयत्न गरिरहेका छौँ । सरकारले होटल तथा पर्यटन व्यवसायमैत्री नीति ल्याउनसके होटल व्यवसाय फस्टाउँदै जाने र थप रोजगारीको सिर्जना हुने हाम्रो विश्वास छ । यसका लागि प्रदेश सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उनले भने ।

राज्यले होटल व्यवसायलाई उद्योगका रूपमा दर्ता गरे पनि हालसम्म आफूहरूले सोअनुसार कुनै पनि सेवासुविधा नपाएको व्यवसायीले बताएका छन् ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु