गृहपृष्ठ विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरू

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरू

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरू
सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिए । उनकाअनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ ।
अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र भोलिसम्म आइपुग्ने अस्पतालका डा. चौधरीले बताए ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने बताए । “आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा. चौधरीले भने, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।”
अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको भनाइ छ  । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने छ ।
शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

प्रकाशित समय : २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु