गृहपृष्ठ तटबन्ध बगाएपछि गलेश्वर र राहुघाट जोखिममा
तटबन्ध बगाएपछि गलेश्वर र राहुघाट जोखिममा
म्याग्दीको रघुगङ्गा नदीमा आज आएको बाढीले रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा सडक र बेनी नगरपालिका–९ गलेश्वरमा तटबन्ध बगाएको छ ।
बाढीले तटबन्ध र सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । रघुगङ्गा नदीले बेनी नगरपालिका–९ गलेश्वरतर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ । गलेश्वरको बस्ती, पक्की पुल र राहुघाटको बस्ती बाढीको जोखिममा परेको राहुघाटका लक्ष्मण चालिसेले बताए । गलेश्वरतर्फका १० घर जोखिममा परेका छन् । राहुघाट र कालीगण्डकीको दोभानबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्न डोजरका लागि बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो । रघुगङ्गाको कटानका कारण राहुघाटस्थित गायत्री मन्दिर क्षेत्र जोखिममा परेको स्थानीय पदम छन्त्यालले बताए ।
बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्ड राहुघाटसहित चार ठाउँमा पहिरोका कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको यातायात सेवा प्रभावित बनेको छ । बेनी–जोमसोम सडक आयोजनाका सव ईञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो तथा कटानका कारण सडक अवरुद्ध भएको छ ।
प्रकाशित समय : १९:३६ बजे

















