nmb bank

गृहपृष्ठ सहरमा बास, गाउँकै खान्कीमा चाख

सहरमा बास, गाउँकै खान्कीमा चाख

सहरमा बास, गाउँकै खान्कीमा चाख

भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।

पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भनिन “सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जङ्गलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।”

लालकुमारीको असन्तोषी अभिव्यक्तिले सहरको सुविधा र गाउँको स्वादको प्रतिविम्ब झल्काएको छ । पैसा कमाएपछि र सहरमा बस्न सक्ने हौसियत बनाएपछि सुख सुविधाको खोजीमा गाउँ छोडेर सहर पस्नेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँहरु रित्ता हुँदै जान थालेका छन् । खेतबारी बाँझिदै र वनपाखा झ्याङ्गीदै गइरहेको अहिलेको अवस्थामा सहर पसेकाहरुको जिब्रोमा गाउँले अर्गानिक उत्पादनको स्वाद लिने चाहना भने बढ्दै गएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा बस्दै आएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी ७२ वर्षीया टीकाकुमारी थापा, मालिका गाउँपालिका–१ निस्कोट गाउँबाट १४ वर्षअघि बेनी झरेका भवहादुर पुन, देवीस्थानको रुन्माबाट झरेर दरबाङ बजारमा बस्दै आएका वीरबहादुर सिउथानी गाउँको अर्गानिक उत्पादन झिकाएर खाने गरेका छन् । उनिहरु मात्रै होइन, गाउँ छोडेर सहर पसेका अधिकांश व्यक्तिको भान्छामा मौसमी गाउँले अर्गानिक खानेकुराहरु पाक्ने गर्दछ । उनिहरु भन्छन, “सहरको बास भए पनि खान्कीमा भने गाउँले उत्पादनको चाख छ ।”

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको दरबाङका व्यवसायी भरत सुवेदीले बताए । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा छ-सात जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबा–आमा मात्र भेटिन्छन” उनले भने, “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

सुख र सुविधाको खोजी गर्दै सहरमा बसाइँ सरेका मान्छेहरुले गाउँको परम्परागत खान्कीलाई भने भुल्न सकेका छैनन् । ग्रामीण घरका अगेनामा पकाइने खान्की छोडेर सहर पसेकाहरु सहरका भव्य भवनका आधुनिक भान्छामा पकाइएका परिकारहरुमा गाउँले खान्कीको स्वाद खोज्न थालेपछि गाउँका खेतबारी, खोल्साखाल्सी र वन जङ्गलमा उत्पादन हुने अर्गानिक उत्पादनहरुको माग सहरमा बढ्दै जान थालेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

“गाउँ छोडेर सहर पसेका मात्रै होइन, विभिन्न ठाउँहरुबाट म्याग्दी घुम्न आएका आन्तरिक पर्यटकहरुले समेत गाउँको अर्गानिक उत्पादन खोज्ने गरेका छन” अध्यक्ष श्रेष्ठले भने “म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँ उत्पादन हुने अर्गानिक खानेकुरा, तरकारी र फलफूलको बजारीकरणका लागि सदरमुकाम बेनी र ग्रामीण क्षेत्रमा समेत कोशेली घर सञ्चालन गरेर अर्गानिक उत्पादनहरुको खरिद विक्री हुने गरेको छ ।”

सदरमुकाम बेनीबजारमा मात्रै सातओटा अर्गानिक उत्पादनहरुको खरिद बिक्री हुने पसलहरु सञ्चालनमा छन् । त्यसैगरी पश्चिम म्याग्दीको दरबाङमा पनि अर्गानिक उत्पादनको माग बढ्दै गएपछि पसल सञ्चालन गर्नेहरु बढ्दै गएका दरबाङका होटल व्यवसायी अमृत सापकोटाले बताए । सहरको स्वादले मात्र सन्तुष्ट नहुने र गाउँले अर्गानिक उत्पादनको स्वाद बिर्सन नसकेका उपभोक्तालाई लक्षित गरी बजार र गाउँगाउँमा स्थानीय कृषि उत्पादन राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’ र ‘सौगात घर’ खोलिएका छन् । ती पसलहरुमा कृषकले फलाएका ससानो परिमाणका कृषि उपज जुटाएर बेच्न राखिन्छ ।

म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यान्न काठमाडौँ, पोखरा, चितवनलगायतका देशभित्रका सहरमा मात्रै होइन, विदेशका भान्छाहरुमा समेत पुग्न थालेका बेनी कोशेली घरका सञ्चालक सुमन पौडेलले बताए । “प्रायः सबैको रोजाइमा अर्गानिक उत्पादन पर्ने गरेका छन् । गाउँबाट सहर पसेका, पुख्र्यौदेखि सहरमै बसेका र विदेशबाट नेपाल घुम्न आएकाहरु सबैले अर्गानिक वस्तुको सोधीखोजी गर्ने र धेरैथोरै किनेर कोशेली लैजाने गरेका छन् ।”

गाउँका किसानहरुले उत्पादन गरेका जैविक खाद्यान्न, तरकारी र जङ्गल तथा सिमसार क्षेत्रमा प्राकृतिक रुपमा नै उत्पादन हुने च्याउ, टुसा, मुना, निगुरो, ढकायो आदि ग्राहकहरुको रोजाइमा रहेको उनले बताए । कोसेलीघरमा मार्सी, गौरिया, गुडुरा, जेठोबूढो चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो, सातुजस्ता स्थानीय खाद्य सामग्री, लेकाली सिमी, बोडी, मुलाको जरा (सिन्धी), मूलाको गुन्द्रुक, घिउ, परम्परागत मुढेघारको मह, भीर मह, भाँगो, सिलम, जङ्गली रातो च्याउ, टुसा, निउरोको सुकुटी, ढकायोको गुन्द्रुक आदि बिक्रीका लागि राखिएको छ ।

मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुनका अनुसार म्याग्दीको दोवामा उत्पादन हुने ‘खैरो, छिर्केमिर्के सिमी, मुस्ताङको कालो सिमी र फापरको पिठो, तोरीपानीको टिम्मुर, रुममा उत्पादन हुने भाँगो, दोबा र बरन्जाका स्वादिष्ट बदाम, गुर्जाको रातोच्याउ र भीर मह अनि गौरिया, गुडुरा धानको चामल सहरमा बस्ने उपभोक्ताले बढी रुचाउने गरेका छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन) को जुससमेत खोजी गर्दै उपभोक्ताहरु आफ्नो पसलमा आउने गरेका उनले बताए ।

म्याग्दीमा पहिलोपटक १२ वर्षअघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो । कोसेली घर कृषकले घरमा उब्रेको थोरै कृषि उपज होस् वा कृषक समूहमा उत्पादित, फसल बजार पुर्याउने माध्यम भएका छन् । खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन, लेकाली प्राकृतिक हावापानीमा उत्पादित अर्गानिक खाद्य जे पनि बिक्री हुने व्यापारीहरु बताउँछन् ।

जङ्गलमा आँफै उत्पादन हुने निउरो, टुसा, ढकायो र रातो च्याउ टिपेर विक्री गरी वार्षिक रुपमा एक लाख बढी कमाइ गर्दै आएकी मालिका–२ रुमकी फारु विकले यस वर्षको असार दोस्रो सातासम्म २० हजारको निगुरो र टुसा बिक्री गरेको बताइन । “जेठदेखि साउनसम्म जङ्गलमा निगुरो, च्याउ, ढकायो, टुसा पाइन्छ । खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने चिन्ता पनि हुँदैन । जाँगर भएपछि पैसा जङ्गलमा पनि फल्छ”, विकले भनिन ।

 

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु