global ime bank Long Banner Ad

गृहपृष्ठ मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन

मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन

मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन

नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन् ।

स्यस्यः समाज यल इलाका नं. ८ इखाछें ललितपुरको आयोजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा आज महालक्ष्मी स्थानमा आयोजित मानव अङ्गदानसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रा. डा. श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गौला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराए ।

“अस्वस्थ जीवनशैली, सहरीकरण र अखाद्य खानपिनका कारण मिर्गौला, कलेजो र मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचापका रोग लाग्ने गर्छन्, विश्वभर हरेक वर्ष २० हजार मानिसको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ”, उनले भने,  “सन् २०१० मा गरिएको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल हुने गरेको तथ्याङ्क छ । मस्तिष्क मृत्युु भएकाबाट अङ्गदान गरेर फेल भएकाको जीवन बचाउन सकिन्छ ।”

उनले नेपालमा ७२ प्रतिशत मानिसको मृत्युु नसर्ने रोगबाट तथ्याङ्क प्रस्तुत गरे । हैजा, मलेरिया, डेङ्गुलगायत सरुवा रोगबाट २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिए । नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो । मिर्गौला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको उनको भनाइ छ ।

पछिल्लो पाँच वर्षमा पाँच सय जनाभन्दा बढी मृगौला प्रत्यारोपण सफल भएको उनले जानकारी दिए । मस्तिष्क मृत्यु भएकाको अङ्गदानबारे थप चेतनामूलक प्रचार गर्न हरेक वर्ष जागरण अभियान सुरु गरेको उनले बताए ।

नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरुभित्र मिर्गौला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरुले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ ।

नातेदार नपरेकाको हकमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गर्न सक्ने व्यवस्था छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गरि प्रत्यारोपण गर्नेमा स्पेन अगाडि रहेको उनले बताए । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका लागि सम्बन्धित व्यक्तिले जीवितै रहँदा मञ्जुरी दिएको हुनुपर्छ । मृत्युु भएकाको परिवारको सहमतिमा पनि दिन पाउने कानुनी व्यवस्था छ ।

हालसम्म दुई हजार पाँच सय जनाले अङ्गदान गरिसकेका छन् । सन् २००८ मा सार्वजनिक तथ्याङ्कअनुसार ९० प्रतिशत बिरामीले मिर्गौला फेल भएको केही महिनामा मृत्युवरण गर्ने गरेका थिए । हाल प्रत्यारोपण गरेका ९८ प्रतिशत र डायलासिस गरिरहेका ९५ प्रतिशत जीवित छन् । नेपालमा १८ वर्ष पुगेको स्वस्थ्य व्यक्तिले अङ्गदान गर्न पाउने कानुनी व्यवस्था छ । केही महिना अगाडि मात्रै ८१ वर्षका ज्येष्ठ नागरिकले आफ्नी २१ वर्षीया नातिनीलाई मिर्गौला दान दिएर स्वस्थ्य जीवन बिताइरहनु भएको छ ।

अङ्ग प्रत्यारोपण सेवा प्रदान गरिरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गरिरहेको प्रा.डा. श्रेष्ठ जानकारी दिए । स्यस्यः समाज यलका कार्यवाहक अध्यक्ष नवीनमङ्गल जोशीले जनचेतना जगाएर यसलाई व्यापकता दिइनुपर्नेमा जोड दिए ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु