global ime bank Long Banner Ad

गृहपृष्ठ हतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

हतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

हतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

हतुवागढी गाउँपालिका–६ होम्ताङमा रहेको प्रसिद्ध धार्मिक सिमसारा जलकन्या देवस्थल ओझेलमा परेको छ ।  धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचार अभावले ओझेलमा परेको हो ।

सिमसारा जलकन्या देवीथानमा दर्शन गरे गाउँघरमा केही अनिष्ट नहुने तथा आफ्नो मनोकाङक्षा सिद्ध हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीय राजेन्द्र राईले बताए । यो देवस्थलमा पूजापाठ सही ढङ्गले विधि नपु¥याई गरेको खण्डमा गाउँघरमा ठूलो अनिष्ट हुने राईले जानकारी दिए ।

“हाम्रो ठाउँमा रहेको सिमसारा जलकन्या देवीथान ओझेलमा परेको छ,” राईले भने, “यहाँ पूजाआजा गरे काममा कुनै पनि बाधा नपर्ने, आफूले चिताएको पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेका छन्, यहाँ चोखो नितो नगरेको खण्डमा यो आसपासका ठाउँमा केही न केही अशुभ कार्य हुने गर्दछ ।”

पोरोङ खोला जङ्गल बीचमा अवस्थित सिमसारा जलकन्या देवीथान निकै चर्चित देवस्थल मानिन्छ । हतुवागढी गाउँपालिकाले यो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास तथा संरक्षणमा काम गरिरहेको जनाएको छ । यहाँ आउने भक्तजनलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै मन्दिरको घेरवार, बस्नका लागि फलैँचा घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए  । गाउँपालिकाले यहाँ पाँच लाख खर्च गरेर संरक्षणको काम गरेको उनले जानकारी दिए ।

“यो देवस्थलको निकै ठूलो धार्मिक महत्व छ,” अध्यक्ष राईले भने, “दुर्गम भेगमा रहेका कारण यो धार्मिकस्थलको प्रचार हुन सकेको छैन, यो क्षेत्रलाई गाउँपालिकाको एक महत्वपूर्ण धार्मिकस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ, यो क्षेत्रको विकास तथा संरक्षणका लागि हामीले पनि कामको थालनी गरेका छौँ ।”

यो देवस्थलमा वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमामा ठूलो मेला लाग्ने गरेको स्थानीय सरोजकुमार राईले बताए । अन्य समयमा पनि धेरै मानिस विभिन्न ठाउँबाट पञ्चबलि तथा दर्शन गर्न आउने गरेको उनको भनाइ छ । यो ठाउँको दर्शन गर्न धनकुटा, सुनसरी, खोटाङलगायत ठाउँबाट मानिस आउने गरेको उनले बताए । “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वासका साथ मानिस आउने गर्दछन्”, उनले भने, “यो स्थानमा दुई पटक मेला लाग्ने गरेको छ, यहाँ देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।”

बोका, हाँस, परेवा, राँगालगायतको पूजा हुने भए पनि सुँगुर तथा जाँड–रक्सी खाएर प्रवेश गरेको खण्डमा अशुभ घटना घट्ने उनले बताए । यो स्थानमा गत वैशाख महिनामा अचानक आगलागी भएको पनि उहाँले जानकारी दिनुभयो । मन्दिर परिसरमा महिला प्रवेश गर्न नहुने धार्मिक विश्वास रहेको उनले बताए ।

यो देवस्थलाई धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । यो क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारसँगै विकासमा ध्यान दिइएको उनको भनाइ छ । “हामीले गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जोड दिएका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “यो निकै प्रसिद्ध धार्मिकस्थल रहेकाले यसको विकास तथा प्रचार प्रसारमा जुटेका छौँ ।”

यो स्थान प्रसिद्ध धार्मिकस्थल रहेकाले यसको विकास गरेर यहाँको आर्थिक विकासमा जोड्न सकिने स्थानीय समाजसेवी धनहर्क राईले बताए । यो क्षेत्रको विकासले आन्तरिक तथा बाह्य पर्यटनको आवगमन बढाउन सकिने उनको भनाइ छ । “सिमसारा जलकन्या सम्भावना बोकेको धार्मिक क्षेत्र हो”, उनले भने, “यहाँ धार्मिक पर्यटनको विकास गरेर आर्थिक पक्षसँग जोड्न सकिने प्रशस्त सम्भावना रहेका छन्, यसको विकास गरेर पूर्वको प्रमुख गन्तव्यका रुपमा स्थापित गराउन सकिन्छ ।”

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु