गृहपृष्ठ नेपालले माल्दिभ्सलाई दियो २२८ रनको लक्ष्य
नेपालले माल्दिभ्सलाई दियो २२८ रनको लक्ष्य
रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।
नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।
पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।
नेपालबाट यो कुनै पनि विकेटका लागि भएको महिला टी २० आईको उच्च साझेदारी हो ।
रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन् । नेपालले महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी-२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो ।
नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।
माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन् । नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।
प्रकाशित समय : १३:१८ बजे



















