global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका अधिकृत परिवर्तन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका अधिकृत परिवर्तन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका अधिकृत परिवर्तन

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका सात प्रदेशका निर्वाचन अधिकृत एक सातामै फेरिएका छन् । न्याय परिषद्को बुधबारको निर्णयबाट निर्वाचन अधिकृत तोकिएका न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि निर्वाचन आयोगले निर्वाचन अधिकृत हेरफेर गरेको हो ।

त्यस्तै बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न आयोगबाट नियुक्त गरेका निर्वाचन अधिकृतले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने बताएका छन् । आयोगले उनको ठाउँमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रअनुसार जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बिहीबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमतीमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेल र गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य नियुक्त भएका छन् ।

यस्तै लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्‍चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थी निर्वाचन अधिकृत तोकिएका छन् ।

यसअघि आयोगले कोशीमा दुर्गाप्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिममा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु