global ime bank Long Banner Ad

गृहपृष्ठ चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढ्याे

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढ्याे

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढ्याे

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढेको छ ।

साउनदेखि मंसिरसम्म ९ अर्ब १० करोडबराबरको ३ हजार ६ सय ८६ विद्युतीय सवारीसाधन आयात भएका छन् । यो संख्या गत वर्षको यसै अवधिको तुलनामा १७२ प्रतिशत बढी हो । गत वर्ष ०७९/०८० को पहिलो पाँच महिनामा ३ अर्ब ८२ करोड मूल्यका १ हजार ३ सय ५३ विद्युतीय गाडी आयात भएका थिए । पछिल्लो समय पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा भन्दा बिजुलीबाट चल्ने गाडीमा धेरै आकर्षण देखिएको छ । सरकारले पनि बिजुली गाडीको प्रयोग बढाउन न्यून कर लगाउनुका साथै र ८० प्रतिशतसम्म कर्जाको व्यवस्था गरेर प्रोत्साहन गरिरहेको छ । पाँच महिनामा बिजुली गाडीको आयातबाट चार अर्ब तीन करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकले ५१ देखि ११० किलोवाटसम्म मोटर क्षमता भएका कार, जिप र भ्यान सबैभन्दा बढी आयात भएका छन् । यो सेगमेन्टमा दुई हजार २८ थान सवारीसाधन आयात भएका छन् । सरकारले सबैभन्दा बढी कर छुट दिएको ५० किलोवाटसम्मका कार, जिप र भ्यान एक हजार पाँच सय ९५ वटा भित्रिएको देखिन्छ । ५० किलोवाटसम्मका बिजुली गाडीमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र सडक दस्तुर मात्र लाग्ने गर्छ । एक सयदेखि दुई सय किलोवाटसम्म मोटर पावर भएका सवारीसाधन ५२ वटा आयात गरिएका छन् भने दुई सय किलोवाटभन्दा बढीका सवारीसाधन ११ वटा आयात भएको भन्सारको तथ्यांक छ ।

नेपालमा भित्रिने अधिकांश विद्युतीय सवारीसाधन चिनियाँ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । पाँच महिनाको अवधिमा आयात भएका कुल विद्युतीय गाडीमध्ये ६२ प्रतिशत चीनबाट मात्रै आयात भएका हुन् । पाँच महिनामा चीनबाट २२ सय ९७ बिजुली गाडी भित्रिएका छन्, जसमध्ये ५० किलोवाटसम्मका तीन सय ८३ वटा, ५१-१०० किलोवाटसम्मका १८ सय ८४ वटा, १०१-२०० किलोवाटसम्मका २३ वटा र २०१ किलोवाटभन्दा माथिका एउटा गाडी आयात भएका छन् ।

भारतबाट पाँच महिनामा १३ सय ३८ बिजुली गाडी आयात भएका छन्, जसमध्ये ११ सय ९५ वटा ५० किलोवाटसम्मका हुन् भने एक सय ४३ वटा ५१ देखि सय किलोवाटसम्मका हुन् । यस्तै, इन्डोनेसियाबाट १७, साउथ कोरियाबाट २८, जर्मनीबाट तीन, अमेरिकाबाट तीनवटा बिजुली गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु