गृहपृष्ठ विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो
विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिएका छन् ।
एक सय ७७ ग्राहकबाट २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो ।
यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन् ।
प्रकाशित समय : १८:५५ बजे



















