गृहपृष्ठ स्टक एक्सचेञ्जले अर्थमन्त्रालयलाई भन्यो, लाइसेन्सको थप अध्ययन आवश्यक छैन
स्टक एक्सचेञ्जले अर्थमन्त्रालयलाई भन्यो, लाइसेन्सको थप अध्ययन आवश्यक छैन
नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ ।
शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।
२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितनोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।
स्कट एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको ७ महिनासम्म पनि कुनै निर्णय नभएपछि गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्टक एक्सचेञ्जको लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयले बोर्डको पत्रलाई थप स्पस्ट बनाउन भन्दै मन्त्रिपरिषद्मा नलगी धितोपत्र बोर्डमा फिर्ता पठाएको थियो । स्टक एक्सचेञ्जको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेर समेत मन्त्रालय बोर्डसँग स्पस्ट हुन खोजेको थियो ।
साथै अर्थ मन्त्रालय नभई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकोले सोही अनुसारको पत्र पठाउन भन्दै मन्त्रालयले बोर्डलाई पत्र फिर्ता पठाएको थियो । मन्त्रालयले अध्ययन आवश्यक छ कि छैन भनेर स्पष्ट पार्न भनेपछि बुधबार बिहान धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बसेको थियो ।
उक्त बैठकमा अर्थ मन्त्रालयको पत्रको जवाफका सम्बन्धमा छलफल गरी बोर्डको व्यवस्थापनको अधिकारीलाई निर्णयको माइन्युट तयार गर्नेगरी छलफल सकिएको थियो । तर, उक्त निर्णयमा माइन्युट हुन अलमल भएपनि शुक्रबार सोही विषय सहित अन्य एजेण्डमा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो ।
प्रकाशित समय : १६:४३ बजे


















