global ime bank Long Banner Ad

गृहपृष्ठ सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

तनहुँको भानु नगरपालिका–१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो ।

राष्ट्रिय विभूति एवं नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई प्रवर्द्धन गरी व्यवस्थित र आधुनिक शवदाहस्थल निर्माण गर्नका लागि गुरुयोजना बनाउने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ऐतिहासिक, धार्मिक र साहित्यिक तीनै क्षेत्रबाट महत्त्वपूर्ण रहेको सतीघाटधामको समग्र विकास गर्न लागिएको उनले बताए ।

“त्रिपक्षीयरुपमा सतीघाट महत्त्वपूर्ण छ । यस्ता ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी र दायित्व हो”, त्रिपाठीले भने, “सोहीअनुरुप गुरुयोजना बनाएर अगाडि बढ्ने लक्ष्यका साथ काम हुँदैछ ।”

“सतीघाट धार्मिकरुपमा निकै महत्त्वपूर्ण स्थान हो । आदिकवि भानुभक्त आचार्यको समाधीस्थल भएकाले ऐतिहासिक एवं साहित्यिकरुपमा पनि यसको संरक्षण र प्रवर्द्धन गर्नसके यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ”, नगर उपप्रमुख उमा गोतामेले भने । हरिबोधनीको एकादशीका दिनमा मस्र्याङ्दी नदीमा फूलडोली, तोरन टाँङ्ने परम्परा रहिआएको जनाउँदै उहाँले यस धामलाई प्रतिष्ठानका रुपमा विकास गर्न गुरुयोजना बनाउने पहल भइरहेको उनले बताए । आदिकविको नामसँग जोडिएको नगरपालिका भएकाले पनि यस क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिएको उनको भनाइ थियो ।

नगरपालिकाको आगामी हिउँदे अधिवेशनमा उक्त क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि बजेट विनियोजन गरेर काम गर्ने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । बजेट विनियोजन भएपछि निर्माण अगाडि बढाउने योजना बनाइएको भन्दै अहिले आवश्यक छलफल र परामर्श भइरहेको उनले जानकारी दिए ।

सतीघाटधाम विकासका लागि समितिमार्फत काम गर्न सहज बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको छ । भानु नगरपालिकाको संरक्षकत्वमा १५ सदस्यीय तदर्श समिति गठन गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ आयोजित सरोकारवालाको भेलाले भानु–१ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा भानु–१ का प्रेमबहादुर थापा, सचिवमा भानु–५ का दीपक थापा, कोषाध्यक्षमा भानु–१ का भरत बानियाँलाई चयन गरिएको छ । समितिको सदस्यमा भानु–१ का मिठु गन्दर्भ, ईश्वरी थिङ त्रिपाठी, सोम तामाङ, सुरेन्द्र कुमार श्रेष्ठ र रनबहादुर विक, भानु–२ का शिवदत्त ढकाल, भानु–३ का पुनम श्रेष्ठ र लक्ष्मी चिलुवाल त्रिपाठी, भानु–४ का शङ्कर रानाभाट, भानु–६ का ध्रुव थापा र हरि ढकाल चयन भएका छ । उक्त भेलाबाट सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको तदर्थ समितिका सचिव दिपक थापाले जानकारी दिए ।

“नेपाली भाषा एकीकरणका नायक आदिकवि आचार्यसँग सम्बन्धित कयौँ विषयवस्तु र क्षेत्रका बारेमा खोज तथा अनुसन्धान गर्नुपर्ने छ । विश्वव्यापीरुपमा प्रख्यात व्यक्तित्व भानुभक्तको पुस्ता, उहाँको जीवनी, जन्मस्थल, बाल्यकाल, युवा अवस्था र वृद्धावस्थाका साथै उहाँको अन्त्येष्टिलगायत विषय खोजी गर्नुपर्ने देखिन्छ”, सचिव थापाले भने । उनका अनुसार तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला (शिखर कटेरी) मा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको बाल्यकाल, युवा र वृद्धावस्था, उहाँको अन्त्येष्टिका विषयमा प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेका छन् ।

भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भएको थियो । देहावसनको मिति शिलापत्रमा लेखिएको पाइएको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार प्रचारप्रसार नभएकाले भानुभक्तको निधन भएपश्चात् उनको पार्थिव शरीरको अन्त्येष्टि (समाधि) गरिएको स्थानका बारेमा अधिकांश साहित्यकार तथा साहित्यसँग सम्बन्धित सङ्घसंस्था वा स्थानीय नै जानकार छैनन् ।

जन्मस्थलको विकास, संरक्षण र प्रवर्द्धन पनि प्रभावकारीरुपमा हुन नसकेको भन्दै समाधिस्थल थप ओझेलमा परेको रानाभाटको भनाइ थियो । आचार्यका बारेमा सरकारी पक्ष र उनकै सन्ततिबाट खोज तथा अनुसन्धान हुनुपर्ने भन्दै नगपालिकाले थालेको गुरुयोजनाबाट यस स्थानको प्रचारप्रसार हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

“भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका क्षेत्रको जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलको बारेमा जानकारी भए पनि उहाँसँग सम्बन्धित केही स्थानका बारेमा हालसम्म अनभिज्ञ छन्”, रानाभाटले भने, “राष्ट्रिय विभूती भानुभक्तको अन्त्येष्टि गरिएको स्थानका बारेमा थप खोजी गरी यसको संरक्षण गरिनुपर्छ ।” उनका अनुसार मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु–१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु