गृहपृष्ठ काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन् : यातायातमन्त्री ज्वाला
काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन् : यातायातमन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताएका हुन् । उनले तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए । उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताएका हुन् ।
‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नहुन्नँ । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँकतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ,’ उनले भने ।
मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
प्रकाशित समय : १५:०६ बजे



















