गृहपृष्ठ पाँच महिनामा २४ अर्ब बढीको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण
पाँच महिनामा २४ अर्ब बढीको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण
चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा २४ अर्ब बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार मंसिर महिनासम्म २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
मंसिरसम्म २२० वटा उद्योगमा उक्त रकम बराबरको प्रतिबद्धता आएको हो । मंसिरसम्ममा लगानीकर्ताले नयाँ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् भने सञ्चालनमा रहेको उद्योग अर्थात् शेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/एसएसए सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए)/टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मा ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त उद्योगबाट १० हजार १२० जनाले रोजगारी पाउने जनाइएको छ ।
त्यस्तै, मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने एसपीए÷एसएसएमार्फत् २ वटा उद्योगमा ३० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । विभागमा हालसम्ममा वैदेशिक लगानीका ६ हजार ५८ वटा नयाँ उद्योग दर्ता भएका छन् । ति उद्योगमा विदेशी लगानीकर्ताले ४ खर्ब ७० अर्ब ५७ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साथै, ३ लाख १९ हजार २१७ जनालाई रोजगारी प्रतिबद्धता जनाइएको छ ।
मंसिरसम्ममा १९९ वटा नयाँ उद्योगमा लगानी प्रतिबद्धता जनाउँदा ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, मध्यम वर्गको ७ वटा र साना वर्गको १८९ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
मंसिरसम्मको तथ्यांक अनुसार विदेशी लगानीकर्ताको लगानीको आकर्षक क्षेत्र पर्यटन रहेको पाइएको छ । पाँच महिनाको अवधिमा लगानी प्रतिबद्धता जनाएकामध्ये करिब आधा हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । विभागअनुसार उक्त अवधिमा ९५ वटा पर्यटन क्षेत्रमा अर्थात् ४८ प्रतिशत लगानी प्रतिबद्धता जनाएका छन् ।
त्यसपछि, सेवा क्षेत्रमा ७४ वटा उद्योग (३७ प्रतिशत), उत्पादन क्षेत्रमा १९ वटा (१० प्रतिशत), सूचना तथा प्रविधि क्षेत्रमा ५ वटा (३ प्रतिशत), पूर्वाधार क्षेत्रमा ४ वटा (२ प्रतिशत) र खनिज र कृषि क्षेत्रमा एक÷एक वटा उद्योग दर्ता गरी लगानी प्रतिबद्धता जनाइएको छ । विद्युत क्षेत्रमा भने लगानी प्रतिबद्धता आएको छैन ।
मंसिरसम्ममा लगानी प्रतिबद्धता जनाएका १२ सय लगानीकर्ताले बिजनेश भिसा लिएका छन् । त्यसबाहेक लगानीकर्ताको १४१ जना प्रतिनिधि र ३६० जनाले डिपेन्डेन्टमार्फत् बिजनेश भिसा लिएका छन् । साथै, ५३ जनाले एनटी भिसा लिएका छन् ।
प्रकाशित समय : १४:५४ बजे


















