global ime bank Long Banner Ad

गृहपृष्ठ बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उनले भने, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उनका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, श्रीसले भने, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उनका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

“पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुङ्गा खसिरहने भएकाले जोखिम छ”, मङ्गला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, “यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पु¥याउन सकिएको छैन ।”

उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उनले भने ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु