global ime bank Long Banner Ad

गृहपृष्ठ सुन तस्करीको रामलिला, रहस्य नै रहस्यको यस्तो खेला

सुन तस्करीको रामलिला, रहस्य नै रहस्यको यस्तो खेला

नन्दलाल खरेल

सुन तस्करीको रामलिला, रहस्य नै रहस्यको यस्तो खेला

सुनचाँदी बहुमूल्य धातु हो । यसको बहुआयामिक महत्व र उपयोगिता रहेको छ । यो सुखको गहना र दुःखको खजानाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो संभावना हुँदाहुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने दिशातर्फ जान सकेको छैन ।

यो क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्ने र संबोधन गर्ने कानूनको अपर्याप्तता रहेको छ । जसको कारण नेपाल सुन तस्कारीको समेत अखडा बनेको छ । हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अखडा हुन थालेको छ । तस्करीसँगै राजनीतिक नेतृत्व, प्रहरी प्रशासन, उद्योग–व्यवसायी र कमर्चारी संयन्त्र समेत मुछिदा सुन तस्करीको जालो भयङ्कर डरलाग्दो रहेको देखाउँछ ।

सतहमा आएका पश्नहरु

सुन तस्करी भित्रको राजनीतिले मुलुक अहिले तातेको छ । त्रिभुवन अन्तराष्ट्रिय विभानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिएको करिब एक क्विन्टल अर्थात १०० केजी अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गरेसँगै कयौं प्रश्नहरु उब्जिएका छन् । कतै राजनीतिक आडमा सुन तस्करी भएको त होइन ? सुन तस्करीको जालोमा किन मूल मालिक पत्ता लाग्दैन ?

किन जहिल्यै पनि भरिया मात्र पर्छन पक्राउ ? राज्य संयन्त्रको मिलेमतो नभई यत्रो सुन तस्करी हुन सक्छ ? सुन व्यवसायीहरु पनि सुन तस्करीमा संलग्न छन् ? भन्सार अध्यागमन र प्रहरीको मिलोमता विना विमानस्थलबाट तस्करी संभव छ ? सुनका तस्करीका मूल ठेकेदार किन पक्रन सक्दैन ? यी सबै प्रश्नहरुको उत्तर खोज्न अपरिहार्य छ ।

तस्करीको ऐतिहासिक पृष्ठभूमि 

सुन तस्करी संस्थागत भएको पञ्चायतकालमै हो । नेपालमा सर्वप्रथम २०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्र बहादुर बुढा र २०४३ मा राष्ट्रिय पञ्चायतका सदस्य नरबहादुर गुरुङले हङ्कङबाट अवैध रुपमा सुन ल्याएको इतिहास छ । अवैध रुपमा सुन ल्याउँदा ल्याउँदै उनीहरु समातिएका थिए । त्यसपछि नेपालमा सुन तस्करी बढ्न थालेको हो ।

पञ्चायतले नै हाम्रो मुलुकलाई सुन तस्करहरुका लागि स्वर्णभूमि बनाएको थियो । त्यति मात्र होइन विभिन्न राजनीतिक परिवर्तन पछिको नेतृत्वले पनि तस्करीलाई अविच्छिन्न विरासतका रुपमा अपनाएको छ । नेपालमा सुन तस्करी पञ्चायतकालमा जब राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिए । तब नेपालका सुन तस्करीले प्रवेश पायो ।

जसले अहिले तीव्रताका साथ गति लिएको छ । सन् १९७० को दशकपछि नेपालमा सुनको अवैध कारोबार हुन थाल्यो र सन् १९८० को दशकमा गति लिन थाल्यो । तत्पश्चात अहिले यो उच्च गतिमा पुगेको छ । जब सरकारी कर्मचारी, उच्च ओहदाका व्यक्तिहरु र तस्करहरुको बीचमा मिलीभगत हुने गर्दछ । तवमत्र सुन तस्करी हुने गर्दछ । पछिल्लो समयमा राजनीतिक समूह पनि सक्रिय हुन थालेको छ । ससाना परिमाणमा सुन तस्करी हुन लाग्दा बरामद भएका घटना हप्तैपच्छिे देखिदै आएका छन् ।

त्यस्ता घटना अव नेपालीलाई अनौठो पनि लाग्न छोडेका छन् । तर बेलाबेलामा ठूलो परिमाणमा सुन बरामद भएपछि केही दिन होहल्ला हुने, त्यसपछि सरकारले छानविन समिति बनाउने, समितिले प्रतिवेदन बुझाउने र त्यो दराजमा थन्किइ फासफूस हुने बाहेक केहि हुँदैन । उपलब्धी शुन्य नै हुने गरेको पटक पटकको इतिहास छ ।

अवैध कारोबार किन हुन्छ ?

हरेक नयाँ बन्ने सरकारले सनु तस्करी रोक्ने घोषणा गर्छ । तर सुन तस्करीको ब्यारोमिटर झन उच्च रहने गर्दछ । मुलुकमा रहेका सुनचाँदी व्यवसायीहरुलाई आवश्यक कच्चा सुन आपूर्ति कम हुँदा र दक्षिणी खुल्ला सीमा हुँदा सुनमा बढ्दो तस्करी भएको पाइन्छ । सरकारी निकायमा उच्च पदस्थ, दलाल, माफिया र कतिपय ठूला व्यापारी समेत सुन तस्करीमा लागेका छन् । नेपालमा विवाहको सिजनमा ५० किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यम बाट केवल २० किलो मात्र आएको हुन्छ, अझ अहिले त १० केजी मात्र आउने गरेको छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुल्ला रुपमा भइरहेको यो अपराधका खास अपराधी कहिल्यै फेला परेका छैनन् । पछिल्लो समयमा नेपाल ट्रान्जिटका रुपमा विकसित भइरहेको छ । नेपालमा हजारौं किलो सुन तस्करी भित्रिरहेको छ । यति ठूलो परिमाणको सुन किन अवैधानिक रुपमा भित्रिन्छ । अनि त्यो सुन कहा जान्छ ?

सुन तस्करी मूलतः दुई तरिकाले भित्रिने गरेको पाइन्छ । पहिलो कारण हा,े नियमित भन्सार छलेर थोरै कारोबारमा सुन मुलुकमा भित्रन्छ । दोस्रो कारण अर्कै सामान आयात गरेको भने. सुन लुकाएर पनि ल्याउने गरिएको छ ।

उदाहरणका लागि स्कुटरको बे्रकशुमा सुनमा लुकाएर ल्याएको १ सय किलो सुन । अवैध सुन भित्रनुमा प्रमुख कारण करको दर हो । संसारको जुन कुनामा सुन किनेपनि महँगो नै हुन्छ । सवैभन्दा कम कर लाग्ने मुलुकहरुमा पनि १० ग्रमा सुन किन्दा ८३ हजार नेपाली रुपैया पर्छ । अर्थात एक किलोमा ८३ लाख रुपैया बरावर । अहिले राजस्व अनुसन्धान विभागले समालेको १ सय किलो सुन हङकङबाट ल्याएको हो । हङकङमा प्रति १० ग्राम सुनको मूल्य ४ हजार ९ सय ५५ हङकङ डलर अर्थात ८३ हजार ६ सय ९८ रुपैया छ ।

नेपालमा त्यो सुन आयात गरेर ल्याउँदा १५ प्रतिशत भन्सार लाग्छ । त्यस्तै चालु आर्थिक वर्ष देखि २ प्रतिशत विलासिता शुल्क पनि थापिएको छ । त्यसरी वैधानिक रुपमा आएको प्रति १० ग्राम सुनको मूल्य नेपालमा ९६ हजार ७१० रुपैया तोकिएको छ । भन्सार नतिरी तस्करी भएर नेपाल सुन भित्रदा १० ग्राममै १३ हजार रुपैयाँ फरक पर्छ । भन्सार तिरेर आएको १ किलो सुनभन्दा तस्करी भएर आएको त्यति नै परिमाणको सनुको मूल्यमा १३ लाख रुपैयाँ फरक पर्छ ।

एक किलोमै १३ लाख रुपैया फाइदा हुने भएपछि त्यसको लोभमा तस्करहरुले जोखिम मोलेर सुन तस्करी गर्छन् । नेपालमा तस्करीबाट भित्रने सुन भारत तर्पm जाने गरेको छ । भारतमा संसारमा सवैभन्दा धेरै सुन खपत गर्ने मुलुकमध्ये एक हो । तर, भारतमा सुनमा कर नेपालमा भन्दा धेरै छ ।

तस्करहरुले चाहेर मात्रै सुन भित्रन सक्छ ?

तस्करहरुको संलग्नताले मात्रै सुन अवैध तरिकाले भित्रन सक्दैन । राजनीतिक संरक्षण, प्रहरी र प्रशासनिक संरक्षण विना सुन तस्करी सम्भव छैन । गृह र अर्थमन्त्रालय नमिली पनि यो हुन सक्दैन । पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन् ‘आपूm अर्थमन्त्री हुँदा पनि राजनीतिज्ञले कतिपय खराव भनिएका कर्मचारीलाई विमानस्थलमा पठाउन भनेको तर आपूmले नटेरेको र सम्पूर्ण कर्मचारीको जिम्मा सचिवहरुलाई दिएको सुनाए ।’ सुन तस्करीमा विमानस्थल सेवाका कर्मचारी र प्रहरीको मुख्य भुमिका हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुले दावी गरेका छन् ।

सुनको अवैध कारोवारमा मुख्य गरी त्रिपक्षीय मिलेमतो हुने गरेको छ । राजनीतिक दलका नेताहरुको छत्रछायामा व्यापारी र कर्मचारकिो मिलीभगतमा यो धन्दा चल्ने गर्दछ । खासमा अवैध सुन आयात हुनुमा नेता र व्यापारी भन्दा ठूलो हात भन्सारमा बस्ने कर्मचारीको हुन्छ ।

व्यापारीलाई राजनीतिक नेता कार्यकर्ताले सहयोग गरेपनि भन्सार बस्ने कर्मचारी नमिल्ने हो भने कतिपनि सुन छिराउन सक्दैन । तर विडम्वना, हाम्रो कर्मचारी प्रशासन सवैभन्दा वढी भ्रष्ट छ र त्यही वर्ग अवैध कामममा सधैं जोगिदै आएको छ ।

तस्करीको सनु कति वरामद ?

मुलुमा भ्रष्टाचारी, कालोबजारी र तस्करी यसरी मौलाएको छ कि कुनैपनि अनुसन्धान र कानुनी कारवाहीले रोक्न सकेको छैन । ०७१÷७२ देखि सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परेका छन्, तर, ३३ केजी सुन काण्डमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ बाहेक सबै भरिया तहका मात्रै छन् । गोरे पनि प्रमुख नाइके भने होइनन् । उच्च तहको राजनीतिक, प्रशासनिक र प्रहरी संरक्षणमा रहने तस्कर गिरोहका नाइके सधै जोगिने गरेका छन् । २०७१ देखि अहिले सम्म ९ वर्ष मा ८ सय ९ केजी सुन बरामद भएको तथ्यांक छ ।

अधिकांश सुन तस्करी चीन, कतार, मलेसिया, थाइल्याण्ड, दुवइ र हङकङबाट हुने र त्यो सुन नेपालमा थोरै मात्र खपत हुने भएपनि धेरै मात्रामा भारतमा पुग्ने गर्दछ । हालैको एक क्विन्टल सुन प्रकरणमा यो आलेख तयार गर्दा सम्म १६ जना पक्राउ गरेका छन् । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गरेको अपरेशनको क्रममा अहिलेसम्म प्रकाउ पर्नेको संख्या १६ पुगेको हो । सुन वरामद भएकै रात ६ जाना पक्राउ परेका थिए । भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्य तर्पm लैजाँदै गर्दा टयक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो । लामा बा.२ज २३२४ नम्वरको ट्याक्सी चालक हुन् ।

उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो । भन्सार जाँचपास समेत गरेर बाहिरीएको एक क्विन्टल सुन टयक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । राज्य संयन्त्रलाई नै चुनौती दिनेगरी एकैपटक यति ठूलो मात्रामा सुन बरामद भएपछि आम सर्वसाधारणले सोचेका थिए, घटनामा ठूलै गिरोह समातिने छन् । तर दोलखा मेलुङ गाउँपालिका १ का २१ वर्षिय दिलीप भुजेल पक्राउ परे जो ६ महिना अघिसम्म काठमाडौमा ज्यामी गर्थे ।

उनका बाबु रामबहादुर अहिले पनि काठमाडौंमै ज्याला मजदुरी गर्दै आएका छन् । उक्त सुन दिलीपकै नाममा दर्ता ‘रेडि ट्रेड’ कम्पनीका लागि हङकङबाट आएको थियो । जुन कम्पनी ७८ दिनअघि मात्रै कम्पनी राजिस्टार कार्यालयमा दर्ता भएको थियो । कम्पनीले सुन मोटरसाईकल र स्कुटरकौ ‘ब्रेक्सु’ भित्र लुकाएर ल्याएको थियो ।
यो प्रकरणमा चिनियाँ नागरिक र कार्गो कम्पनीको सञ्चालक सहित ४ जना पक्राउ परेका छन् ।

चीन भाग्न लागकोे अवस्थामा विमानस्थलबाट चिनियाँ नागरिक लिन चु पक्राउ परे । उनी सात महिना देखि विजनेस भिसामा काठमाडौंमा बस्दै आएको खुलेको छ । त्यसैगरी काटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरु राजन राज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परे । क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं’ उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो ।

तस्करहरुको स्वर्गभूमि हो नेपाल ?

गौतम बुद्ध र सगरमाथाको देशमा चिनिएको नेपाल अहिले तस्करहरुको स्वर्गभूमीको रुपमा चिनिएको छ । तस्करी नियन्त्रण हुनुको सट्टा झन ठूला तस्करीहरु भइरहेको छन् । पहिलेका रेकर्ड तोड्ने प्रतिस्पर्धामा तस्करी हुने गरेका छन् । त्यसको पुष्टि हालैको यो एक क्विन्टलको परिमाणमा भएको सनु तस्करीको गरिदिएको छ । प्रजातन्त्रको आगमनपछि सुन तस्करीका घटनाहरु पटक पटक हुदै आएका छन् ।

घटनाको आवृत्ति पनि बढिरहेको छ र परिमाण पनि अकल्पनिक रुपमा बढिरहेकौ छ । अझ लोकतान्त्रिक/गणतान्त्रिक शासन व्यवस्थामा त तक्सरहरुको व्यारोमिटर उत्कर्षमा पुगको छ । तस्करीका कारण भागवण्डा नमिलेर ज्यान मार्ने काम भएका घटना पनि बाहिर आए ।

अहिले भएको तस्करीको सुन समातिएको र तस्करीमा संलग्नहरुलाई पक्राउ गरिएको कार्यको विरोधमा राजनीतिक पार्टीहरु सडकमा आएको हास्यास्पद घटना देखिनुले यसका आशय छलंग भएको छ । कुनै राजनीतिक पार्टीको र त्यस्ता पार्टीका नेताहरुको संलग्नतामा तस्करी हुँदो रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।

सुन तस्करको जरैसम्म पुग्छ सरकार ?

विमानस्थलबाट पटक पटक सुन तस्करी भएको घटना बाहिर आएपछि गृहमन्त्री नारायण काजी श्रेष्ठले अन्तराष्टिय विमानस्थलको निरीक्षण गरेका छन् । सुन तस्करको जरैसम्म पुग्ने र दोषीलाई उम्कने नदिने उद्घोष गरेका छन् । तर नेपाली जनताले विगतलाई हेरेर शंशयका दृष्टिले हेरेका छन् । राजश्व अनुसन्धान विभागले अहिले विस्तृत छानविन गरेको छ ।

विभागले संगठित रुपमा सुन तस्करी गर्दै आएका गिरोहको दोसा्रँे तहका व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ । केही तथ्यहरु खुलिसकेकौ जानकारी पाइएको छ भने प्राविधिक अनुसन्धान पनि जारी रहेको विभागका अधिकारीले बताएका छन् । सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सनु गाल्ने मेसिन बरामद भएको छ ।

यो प्रकरणमा पक्राउ गरेका चिनीयाँ नागरिक तिक्वान लिनको वालुवाटारस्थित गोदाममा मेसिन भेटेको छ । मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरहले ठूलो परिमाणमा सुन तस्कारी गरेको आधार देखिएको छ । उनीहरुले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पु¥याउने गरेको अुनमान गर्न सकिन्छ ।

मलहोत्राको फोटा छापिदा नेताको किन आपत्ति ?

विदेशी मुद्रा तथा सुन तस्करीमा पटक पटक नाम जोडिएका र विगतमा मुद्रा तस्करीमा कारवाहीका लागि सिफारिस भएका व्यापारी दिपक मल्होत्राको कम्पनी आइएमएफ ग्रुपले विमानस्थल पाकिङ आगमन कक्ष सञ्चालन गरिरहेको छ । यो सुन प्रकरणमा मलहोत्राको फोटो छापिँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको आपत्ति रहेको छ ।

ओलीले अन्तराष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा नयाँ पत्रिका माथिको आरोपपुर्ण अभिव्यक्तिप्रति दिएका दिए । ओलीको आक्रोश, आरोप र गाली गलौचले मल्होत्रासँग उनको अतिरिक्त प्रेम देखिएको छ ।

३३ किलो सुन प्रकरणबाट मल्होत्रा कसरी र किन जोडिए ? पूर्ण पाठ आउन बाँकी हुदै ओलीको आक्रोशबाट थप प्रशस्त शंका गर्न सकिन्छ ।

सुन तस्करी प्रकरणमा गृह र अर्थको राजीनामा माग :

यो प्रकरणले अहिले संसद तातेको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुबीच यो विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । यो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेका छन् । सत्तापक्षकै सांसदले समेत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरका छन् । प्रतिपक्षी दल रास्वपाले संसदमा सुन काण्डको बारेमा जसरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

उसले सरकारसँग जवाफ समेत माग गरेको छ । राप्रपाले पनि छानविन समिति बनाउनु पर्ने माग गरेको छ । सुन तस्करी प्रकरणको घटना विवरण र छानविनमा भएकौ प्रगतिबारे जानकारी गराउन आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेका अवरोधका कारण जवाफ दिन पाएनन् । एमालेको अवरोधपछि सभामुखले पाँच दिनका लागि प्रतिनिधसभा बैठक स्थगित गरेका छन् । एमालेका प्रमुख सचेत पदम गिरीले संसदमा भनेका छन्, ‘पछिल्लो दुई तीन महिनामा ५० क्विन्टलभन्दा बढी सुन गृहमन्त्री र अर्थमन्त्रीकौ संरक्षणमा र सेटिङमा भित्रिएको छ, यो सामान्य विषय होइन ।

पछिल्लो पटक भेटिएको एक क्विन्टल सुन सेटिङ भत्किदाँ पक्राउ परेको हो’ । प्रतिपक्षी दलहरुले राजनीनामाको माग गर्नु भन्दा निष्पक्ष छानविनको माग गर्नु उचित हुन्छ । राजीनामा कसैले दिदैमा छानविन राम्रो हुन्छ भन्ने हुदैन । अर्को नयाँ आउने मन्त्रीले यो विषयलाई बुझ्न समय लाग्छ ।

सूचना दिनेलाई पुरस्कार

आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करी तथा अवैध तरिकाबाट कसैले मुलुकमा सनु भित्राउँछ र सो सुनको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेको छ । राजस्व अनुसन्धान विभागले करिब एक अर्ब सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँ भन्दा बढी पाउने भएका छन् । बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० कराृेड रुपैयाँ पाउँछन् ।

उक्त रकमको लोभले नै सुराकीले राजश्व अनुसन्धान विभागलाई सूचना दिएकोले सुन बरामद भएको हो । अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्व सूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपे्रशन चलाएको थियो । सूचना दिनेलाई पुस्कारको व्यवस्थाले सुन तस्करीलाई निरुत्साहित गर्न मद्दत पुग्ने देखिन्छ ।

सुनचाँदी बजारको अवस्था

सुन तस्करीका कारण पत्ता लगाई सरकारले त्यस्ता जालोलाई छोड्नु पर्दछ । सुन तस्करीको कारण सुनचाँदी व्यवसायमा निकै असर परेको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो संभावना हुँदाहुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने तर्फ केन्द्रित हुन सकेको छैन । नेपाली गरगहना क्षेत्र अहिले विभिन्न समस्याबाट गुज्रिरहेको छ । सुनको आयात कोटा घटाउँदा सुन तस्करी बढेको हो ।

गुणस्तरीय कच्चा पदार्थको अपर्याप्तता, कानूनी अस्पष्टचा, शान्ति सुरक्षाको कमी, दक्ष नेपाली कालीगढको अभाव, बेला बेलामा हुने बैंकिङ तरलता र बढ्दो ब्याजदर यस क्षेत्रका समस्याहरु हुन् । सुनचाँदी क्षेत्र मुलुकको संस्कृति र मौलिकताको जीवन्त धरोहर हो । अर्थतन्त्रमा यो व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ । देशभरमा करिब २५ हजारको संख्यामा सुनचाँदी व्यवसायी छन् ।

लाखौंको संख्यामा यसले रोजगारी सिर्जना गरकेो छ भने दशौं लाखको संख्यामा यो व्यवसायमा आश्रित परिवार रहेका छन् । तर विडम्बना अहिलेसम्म सरकाले सुनचाँदी बजारलाई व्यवस्थित गर्न ऐन, नियम तथा निर्देशिका जारी गर्न सकेको छैन । यद्यपी सरकार र सुनचाँदी व्यवसाय महासंघहरुले पटकपटक वार्ता गरिसकेको अवस्था छ । महाासंघले सरकारबाट आश्वसन बाहेक केही पाउन सकेको छैन ।

निष्कर्ष

अहिले सम्म केही सुनकाण्डमा भन्सारका सवै कर्मचारीलाई निलम्बन गर्ने सरकारले निर्णय गरेको छ । तर मुख्य नाइकेहरुको बारेमा बेखबर छ । विगतदेखि यस्तै पुनरावृति हुँदै आएको छ । सुन प्रकरणको सरकारको अनुसन्धानलाइृ परिणाममूलक बनाउन जोड दिनु पर्छ ।

कसैलाई ढाकछोप वा उन्मुक्ति दिने प्रपन्चलाई किञ्चित ठाउँ दिनु हुँदैन । सरकार इमान्दार पूर्वक यो वेथितिविरुद्ध कठोर भएमा मात्र अनुसनधान सफल हुनसक्छ । सुन तस्करी रोक्न कानून कडा बन्नु पर्छ । ती कानूनहरुको कडाइका साथ कार्यान्वयन हुनु पर्छ । भरियाले होइन तस्करहरुले सजाय पाउनुपर्छ ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु