गृहपृष्ठ गण्डकी र लुम्बिनीमा अत्यधिक बर्षा, बाढीको जोखिम
गण्डकी र लुम्बिनीमा अत्यधिक बर्षा, बाढीको जोखिम
मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अत्यधिक भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ ।
महाशाखाका अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा आज बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ ।
अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ ।
प्रकाशित समय : ०८:२६ बजे


















