गृहपृष्ठ भरूवा बन्दुकसहित विभिन्न ठाँउबाट ३ जना पक्राउ
भरूवा बन्दुकसहित विभिन्न ठाँउबाट ३ जना पक्राउ
नुवाकोटको किस्पाङ गाउँपालिका–१ नोचेतस्थित म्यानम्यान सामुदायिक जंगलको छेउबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय कुल बहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ रहेका छन् ।
कुल बहादुर तामाङ, लालिमान तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय विजय तामाङले लोड अवस्थामा रहेको भरुवा बन्दुक लिई दुम्सी मार्न हिँडेकोमा अचानक भरूवा बन्दुक पड्किँदा विजय तामाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
गम्भीर घाइते विजय तामाङको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ । यस्तै,घिरिङ गाउँपालिका–४ करूवाटार बस्ने ५९ वर्षीय टेक बहादुर सोतीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । बेनिघाट रोराङ गाउँपालिका–९ मार्पाङस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १७:१० बजे



















