गृहपृष्ठ इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान
इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान
इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ ।
शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
आफ्नो प्रतिभालाई चिन्दै कलेजको गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे । साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए ।
पारस घरमै डेढ महिनाको समयमा झण्डै १ लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन् ।

उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त हो । जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ ।
जसकारण बाइक चोरिने सम्भावना हुँदैन । बाइकमा रिभर्स सिस्टम(पछाडि पनि चलाउन मिल्ने) छ । ६० किलोमिटरको गतीमा चल्न सक्छ । एकपटक चार्ज गरेमा ७० देखि ८० किलोमिटर सम्म बाइक गुड्न सक्छ ।
यस्तै बाइकको अगाडि डिजिटल डिस्प्ले पनि राखिएको छ । जसमा ब्याट्रीको अवस्था, बाइकको स्पिड, कुँदेको किलोमिटर, लाइट, सिंग्नल आदि महत्वपूर्ण जानकारी हेर्न सकिन्छ ।
बाइक निर्माणमा पारसलाई एसपीएकै विद्यार्थी सोहन कैनी र सागर खनालले सहयोग गरेका हुन् । यसअघि सोहनले कलेजको सहयोगमा इलेक्ट्रिक बाइक तथा सागरले एसपीए इभी मोडल वान कारको निर्माण गरिसकेका छन् ।

प्रकाशित समय : ११:५५ बजे


















