गृहपृष्ठ भैंसी बहस
भैंसी बहस
भैंसी कालो हुन्छ । भैंसीसँग किसानको भावुक सम्बन्ध छ । भैंसीले दुध दिन्छ । कुराउनी, दही र घिउ बचेर कतिले छोराछोरी पढाएका छन् । घरजग्गा जोडेका छन् र व्यवहार धानेका छन् । त्यसमा पनि मुर्रा जातको भैसीका विशेषता नै धेरै छन् । यसले धेरै दुध दिन्छ । दुधकै लागि मुर्रा जातको भैंसी प्रख्यात छ । यसलाई भैंसीमध्येको पनि राम्रो भैसी मानिन्छ ।
यो पाठ संसदमा भैंसी बहस चर्काउने हाम्रा सांसदका लागि हो । किनकि, यति पवित्र आयस्रोत बनेको भैंसीलाई संसदले बद्नाम बनाएर हंगामा मच्चाउने काम गरेको छ । भैंसी भन्ने बित्तिकै विवादमा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि भैंसीकै कारण विवादित बनेका छन् ।
२०६६ माघ २९ गते प्रधानमन्त्री रहेकै बेला सुनसरीको चतराधाम पुगेर प्रधानमन्त्री प्रचण्डले भैंसी पुजा गरेपछि रातारात भाइरल बनेका थिए । झण्डै १४ बर्षअघिको त्यो अपार सफलतापछि प्रचण्ड फेरि भैंसीकै कारण विवादित बनेका हुन् । तर यसपटक भैंसी नभइ विषय राँगाको हो ।भारत भ्रमणका क्रममा १५ वटा मुर्रा जातको राँगा प्रधानमन्त्रीले उपहार ल्याएको विषय नेपालमा बहस बनेको छ । र प्रधानमन्त्रीले संसदमै हप्की खाएका छन् । उनले सोमबारको संसदमा भैंसी हो कि, राँगा हो भन्ने विषयमै स्पष्टीकरण दिनुपर्याे ।
प्रधानमन्त्रीले उपहार ल्याएको ‘कालो बस्तु’ भैंसी हो कि राँगा हो भन्ने विषयमै संसदको १० लाख खर्च भएको छ । किनकि एउटा बैठक सञ्चालन गर्दा झण्डै १० लाख बढी खर्च हुन्छ । संसद प्राथमिकता भुलेर यही विषयमा केन्द्रीत बनेपछि सांसदहरुबीच सवालजवाफ नै चल्यो ।
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट भैंसी चढेर फर्किएको अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदले होहल्ला चर्काए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बीचमै उठेर खनालको भनाइमाथि छेकबार लगाउँदै संसदीय रेकर्डबाट हटाउन माग गरे । एउटा बोल्दाबोल्दै अर्को सांसद उठेर आपत्ति जनाएको भन्दै एमाले सांसद सूर्य थापा उठेर अर्काे आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए । सभामुखको निर्देशनपछि शब्द संसदको रेकर्डबाट हट्यो । तर आफ्ना सांसदको अभिव्यक्तिमात्रै सभामुखले रेकर्डबाट हटाएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले आपत्ति जनाए ।
प्रधानमन्त्रीको भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख थियो । यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड ट्रोलको शिकार पनि भएका थिए । जसमाथि टेकेर बोल्दै प्रधानमन्त्री प्रचण्डले पनि ‘मान्छेहरुले मलाई भैंसी चढाएर हिडेका छन्’ भन्ने अभिव्यक्ति दिए । तर सभामुखले सांसदको मात्रै अभिव्यक्ति हटाएपछि विपक्षीहरु विरोधमा उत्रिएका हुन् । जसले झनै होहल्ला मच्चिएको थियो ।
किसानको आवश्यकता अनुसार नश्ल सुधारका लागि आजभन्दा पाँच बर्षअघि नै भारतसँग मुर्रा प्रजातिको राँगा माग गरिएको थियो । जतिबेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए । अहिले प्रचण्डको पालामा आएपछि ओलीले पनि भारत भ्रमणको उपलब्धी भन्दै उछितो काढ्ने काम गरेका छन् । अझ अघि बढेर भैंसी आउनुमा आफ्नो पनि भूमिका रहेको भन्दै उपलब्धीको जस लिन खोजेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी भैंसीमात्रै भएको भन्दै खिसिटीउरी गर्ने काम पनि गरेका छन् ।
नेपालमा नभएका कुकुरको प्रजाति ल्याएर जसरी ब्रिड गरिन्छ । त्यसरी नै धेरै सम्भावना देखिएको मुर्रा भैंसीको प्रजाती राँगा ल्याएर नश्ल सुधारको प्रयास सरकारले गरेको हो । जसमा भारतले १५ वटा उपहार दिने घोषणा गरेको थियो । जुन अहिले प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएकै बेला आउने पक्का बनेको हो ।
तर भैंसी नेपाल नआईपुग्दै सामाजिक सञ्जालदेखि संसदमै प्रधानमन्त्रीले भारतबाट भैंसी ल्याएर फर्किएको भन्दै विवादसहितको बहस छेडिएको छ । नेपाली काँग्रेसका नेता प्रकाश स्नेही यसलाई प्रतिपक्षीसँग मुद्दा सकिएको अर्थमा टिप्पणी गर्छन् । ‘संसदमा उठाउने कुरा नै बाँकी नरहेपछि उहाँहरु यो तहमा उत्रिनु भएको हो ।’, उनले भने, ‘एमाले अध्यक्ष ओली जस्ता मानिसका लागि यस्ता कुरा सामान्य हुन् । तर यसले जनताको प्राथमिकता भूलेर संसद कुतर्कमा अघि बढेको स्पष्ट भएको छ ।’
राँगालाई भैंसी भनेर प्रचार गरेको भन्दैं कृषि मन्त्रालयले विज्ञप्ती निकालेर खण्डन नै गरेको छ । प्रधानमन्त्रीले प्रचण्डले भने संसदमा बोल्दै भैंसी नभई मुर्रा राँगो भएको बताएका छन् । तर सत्तापक्ष र प्रतिपक्षबीच सामान्य विषयमा असमान्य जुहारी चलेपछि संसदको प्राथमिकतामाथि नै प्रश्न उठेको छ ।
प्रकाशित समय : ११:०१ बजे




















