गृहपृष्ठ चेक बाउन्स भनेको के हो ?
चेक बाउन्स भनेको के हो ?
सेवाग्राहीले रकम भुक्तानीका लागि लगेको चेक बैकले भुक्तानी नगरी निश्चित कारण सहित चेक बाहकलाई फिर्ता दिन्छ अर्थात चेकको भुक्तानी दिन बैकले इन्कार गर्छ । यसलाई चेक बाउन्स भनिन्छ । अर्को शब्दमा भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । चेक बाउन्स विभिन्न कारणबाट हुन्छ ।
जस्तो कि चेकमा लेखिए अनुसारको रकम सम्बन्धित खातावालाको बैक खातामा भुक्तानी योग्य रकम नभएमा, चेकमा लिखिएको मिति,अंक,ब्यहोरा आदि फरक परेमा वा अन्य कारण । चेक बाउन्स हुने गरि चेक काट्नु हुदैंन । यदि चेक बाउन्स भए चेक काट्ने वा चेक जारी गर्ने ब्यक्तिले नेपालमा प्रचलित कानून अनुसार एक साथ दुईवटा कसूर भोग्नु पर्ने हुन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ ।
चेक बाउन्स भए के गर्ने ?
बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ । हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ ।
चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ ।
कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।
प्रकाशित समय : ११:१६ बजे




















