global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ २ महिनामा लाखबढी विदेशमा कार्यरत सामाजिक सुरक्षा कोषमा जोडिए

२ महिनामा लाखबढी विदेशमा कार्यरत सामाजिक सुरक्षा कोषमा जोडिए

२ महिनामा लाखबढी विदेशमा कार्यरत सामाजिक सुरक्षा कोषमा जोडिए

वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका कामदार योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा जोडिन थालेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली युवा मध्ये हालसम्म १ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध रहेको कोषले जनाएको छ । कोषमा आवद्ध भएका श्रमिकले हालसम्म १९ करोड रुपैया भन्दाबढी योगदान रकम जम्मा भएको कोषले जनाएको छ ।

२ महिना अघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धता गराउने थालेको थियो । सरकारले ८ चैतदेखि वैदेशिक रोजगारी र विदेशमा कार्यरत नेपालीहरुलाई कोषमा समेट्न थालेको थियो ।

सरकारले कोष कार्यक्रम सञ्चालनमा ल्याएदेखि नै वैदेशिक रोजगारीमा जाने अथवा श्रम स्वीकृति लिएका कामदार जोडिन थालेकोे सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका कामदारलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने योजनाले मूर्त रुप पाएको उनले बताए । ‘दुई महिनामा कोषको योजनाअनुसार कामदार सुचीकरण हुँदैछन् । कतिपय देशका रोजगारदाताले नै कोषमा कामदारलाई सूचीकरण गराउन इमेल गदैछन् ।’ उनले भने, ‘वैदेशिक रोजगारीमा कार्यरत कामदारमा कोषको योजनाबारे केही भ्रम छ । यो भ्रमलाई मेटाउन चेतना बढाउन आवश्यक छ । यी सबै समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।’

अहिलेसम्म सूचीकरण अधिकांश वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएका कामदार रहेको उनको भनाइ छ ।

विदेशमा रहेका, भिसा लागेका र कतिपय देशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता भइरहेको कोषले जनाएको छ ।

सरकारले चैत पहिलो साताबाट औपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई पनि कोषको योजनामा समावेश गर्न थालेको थियो । वैदेशिक रोजगारीमा रहेका ३० लाख श्रमिकलाई कोषमा गरी कोषले यो कार्यक्रम सुरु गरेको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिएसँगै श्रमस्वीकृति नवीकरण गर्ने समयमा कोषमा सूचीकरण हुन सक्ने व्यवस्था कोषले गरेको छ ।

योगदानकर्ताले पाउने सुविधा

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको हो । नयाँ रोजगारीमा जाने कामदारका हकमा समेत श्रमस्वीकृतिकै क्रममा योजनामा अनिवार्य आवद्ध हुनुपर्छ ।

कोषको योजनामा आवद्ध भएका वैदेशिक रोजगारीमा कार्यरत कामदारले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा व्यवस्था छ ।

सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्ने गरी योजनाको घोषणा गरेको हो ।

कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याएको छ ।

योगदानकर्ताको हकमा १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाउने कोषले व्यवस्था गरेको छ ।

यस्तै, योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् । कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष १ लाख रुपैयाँ पाउने जनाएको छ ।

यसैगरी, योगदान कर्ताले निवृत्तिभरण योजनामा लगानीको कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनभर निवृत्तिभरण रोज्न सक्ने समेत व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा कार्यरत योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ ।

योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार २ रुपैयाँ बुझाउनु पर्नेछ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइनेछ । वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका श्रमिकले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार रुपैयाँसम्म योगदान गर्न सक्ने कोषले जनाएको छ ।
वैदेशिक रोजगारीको अवधि सकिएपछि एकमुष्ठ समेत रकम लिने वा निवृत्तिभरण योजना रोज्ने विकल्प कामदारलाई समेत राखिएको कोषका सहप्रवक्ता रेग्मीले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण कोषको ऐनमा रहेको उनको भनाइ छ ।

 

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु