global ime bank Long Banner Ad

गृहपृष्ठ खाँण खोरमा पुगेपछि आरजु बचाउन देउवा दौड, च्यातिँदै छ भीआईपी जालो

खाँण खोरमा पुगेपछि आरजु बचाउन देउवा दौड, च्यातिँदै छ भीआईपी जालो

खाँण खोरमा पुगेपछि आरजु बचाउन देउवा दौड, च्यातिँदै छ भीआईपी जालो

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्धको पक्राउ पुर्जीलाई पार्टीविरुद्धको षड्यन्त्र भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो बुधबार बालकृष्ण खाँण पक्राउ परेपछि गयो । काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई बचाउन सहयात्रीको कुरबान गरेपछि पूर्वगृहमन्त्री खाँण पक्राउ पर्नबाट जोगिन सकेनन् ।

उनीकी श्रीमती मञ्जु खाँण सम्पर्कविहिन भएकी छिन् । पूर्वगृहमन्त्री खाँण पक्राउ परेसँगै पक्राउ पर्ने डरकै कारण फरार रहेका टोपबहादुरलाई जसरी पनि निकाल्नुपर्ने दबाबमा एमाले अध्यक्ष ओली परेका छन् । किनकि देउवाले दया नदेखाएपछि खाँण पक्राउ परेजस्तै ओलीले टोपबहादुरको माया त्यागे यसपटक प्रहरीको खोरमा ‘ठूला माछा’ हुनेछन् । त्यसपछि देउवा पत्नी आरजु, खाँण पत्नी मञ्जु र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि पक्राउ परे प्रधानमन्त्री प्रचण्डले देखाउन खोजेको पुरा फिल्मको पात्र चयन सकिनेछ । तर दिनहुँ मुख्य तीन दलका मुखियाहरुको सिंहदरबार भेटवार्ताले भित्रिकुरा के भइरहेको छ, अझै शंकास्पद छ । जसले अनुसन्धान विथोल्ने खतरा व्यापक देखिन्छ ।

टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि नै एमाले अध्यक्ष ओली सिंहदरबार धाइरहेका छन् । त्यसयता व्यापक सक्रियता बढाएका उनले दुईपटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे । पछिल्लो दुईदिनमै प्रधानमन्त्रीसहित एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच दुईपटक त्रिपक्षिय भेटवार्ता भयो । बुधबार उनीहरुबीच भेटवार्ता चलिरहेकै बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत प्रवेश भयो । मंगलबार बेलुकामात्रै श्रेष्ठले बालकोटमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । फलतः मुद्दा कमजोर हुने वा समग्र अनुसन्धान ‘हात्ती आयो–हात्ती आयो फुस्सा’ बन्ने शंका बढेको छ ।

यसले कसलाई कसरी फसाएर र कसलाई उम्काउने भन्ने विषयमा शीर्ष नेतृत्व माथापच्चीमा रहेको बुझाई जनतामा परेको छ । तर खाँणको पक्राउले सजिलो बनाएको छैन । ‘आरजुकै इशारामा काम गर्दा फसियो यार’ भन्दै आएका खाँणले बयानमा नाम लिन सक्छन् । यसअघिदेखि नै साथीभाईसँग आरजुकै इशारामा काम गरेको बताउने खाँणले बयानमै किटान गरे पक्राउ पर्नसक्ने सम्भावना देखेपछि बुधबारको संसद बैठकमा देउवा पत्नी आरजुको सहभागिता देखिएन । बरु आफु जोडिएको अडियो परीक्षणको माग गर्दै आरजुले साइबर ब्यूँरोमा उजुरी दिएकी छन् ।

पूर्वगृहमन्त्री खाँणलाई कुनै आशंका नभई पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । केहीदिनअघिमात्रै सार्वजनिक अडियोमा गिरोहका सदस्यले खाँणकी पत्नी मञ्जुलाई ६ करोड र देउवा पत्नी आरजुलाई २ करोड बुझाएको दाबी गरिएको सुनिन्छ । जुन अडियोमाथि प्रहरीले अहिले आवश्यक परीक्षण गरिरहेको छ । झन पक्राउ परेका सचिव टेकनारायण पाण्डेले खाँणकै समन्वयमा आफुले काम गरेको बयान दिएपछि मञ्जु र आरजुमाथिको आरोप बलियो बन्दै गएको छ । किनकि आफु मुछिएपछि आरजुले यसअघि नै यसका मुख्य योजनाकार केशव दुलालका आफन्तीलाई ३५ लाख बुझाएर बयान फेर्ने लगाएको विषयसमेत चर्चा छ । तर पूर्वगृहमन्त्री खाँण नै पक्राउ परेपछि आरजुलाई पनि सजिलो छैन । किनकि भुटानी शरणार्थी प्रकरणमा गिरोहका सदस्यले आरजुलाई साढे २ करोड र खाँणकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अप्रमाणित अडियो बाहिरिएपछि यी दुई परिवारबीच दरार आउनुमा आर्थिक लेनदेन नै मुख्य कारण रहेको कतिपय नेताहरूको बुझाइ छ ।

आरजु र मञ्जुलाई बचाउनकै लागि देउवाले प्रधानमन्त्रीकै सहमतिमा खाँणलाई पक्राउ गराएको आशंका पनि भइरहेका छन् । यद्यपी अब खाँणले दिने बयानमा थप हाई प्रोफाइलको भविष्य जोडिएको छ । यता भारतमा लुकेर बसेको आशंका गरिएका टोपबहादुर रायमाझीले अनुकुल समय मिलाएर आत्मसमर्पण गर्ने तयारी गरेको विषयसमेत सतहमा छ । रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।

रायमाझीको पार्टी एमालेले भने चौतर्फी दबाब र आलोचनापछि बुधबार उनलाई सचिव पदबाट निलम्बन गरेको छ । वैशाख २० मा पक्राउ पुर्जी जारी भए पनि फरार अवस्थामा रहेकाले रायमाझीको सांसद पद भने कायमै छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ ।

तर यसअघि नै पक्राउ परेका दर्जन आरोपीतले भटाभट पोल खोलिरहेका छन् । त्यसमा पनि यसका मुख्य योजनाकारमध्येका सानु भण्डारीले जस्ताको त्यस्तै बयान नलेखे आत्मदाह गर्ने वा माइतीघरमा पुगेर भण्डाफोर गर्ने चेतावनी प्रहरीलाई दिएपछि भीआईपीहरु बिस्तारै खुल्न थालेका हुन् । मुलतः अबको निशाना आरजु र मञ्जु बनेका छन् ।

अब आरजुलाई बचाउन देउवाले कतिसम्म दबाब दिन्छन् भन्ने कुरा प्रधान बनेको छ । किनकि यसको प्रभाव अनुसन्धानमात्रै नभएर सरकार ढाल्ने खेलसम्म पर्नसक्छ । देउवाको बोली दबाएरै प्रधानमन्त्री अघि बढ्न खोजे ओलीको सहयोगमा देउवा सरकार फेरबदलमै जुट्न सक्छन् । तर यही नक्कली शरणार्थीकै विषयमा सरकार फेरबदलको सम्भावना जटिल छ । आम जनताको नजर र विश्वको ध्याननै यही प्रकरणमा तानिएपछि भ्रष्टाचारीलाई बचाउन शीर्ष नेतृत्वलाई पनि सहज छैन ।

पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री नै जोडिएको यस प्रकरणमा संयुक्त राष्ट्र संघ र अमेरिकी संसदले समेत चासो देखाएको छ ।

यो अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि मुछिएका छन् । तर उनीविरुद्ध गतिलो प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन । पूर्वगृहसचिव तथा हाल अख्तियारको प्रमुख रहेका प्रेमकुमार राईमाथि पनि प्रश्न छ । किनकि २०७४ फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा एमाले र माओवादी सम्मिलित सरकार बनेपछि रामबहादुर थापा गृहमन्त्री र प्रेमकुमार राई गृह सचिव थिए । गिरोहकै योजनाअनुसार मन्त्री थापाले माओवादीका पूर्वसांसदसमेत रहेका इन्द्रजित राईलाई आफ्नो सुरक्षा सल्लाहकार बनाएका थिए । मन्त्रीस्तरीय निर्णयका आधारमा २०७६ असार २९ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बन्यो जसलाई ‘नेपालमा रहेका भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याई विकल्प तथा सुझावहरूसहित प्रतिवेदन पेस गर्ने’ कार्यादेश थियो ।

खासमा शरणार्थी समस्या समाधान होइन, नक्कली शरणार्थी खडा गर्ने पृष्ठभूमि बनाउने योजनामा कार्यदल बनेको थियो भन्ने घटनाक्रमले पुष्टि गरेका छन् ।

फलतः पक्राउ पुर्जी जारी भएका वा नाम डामिएका अझै केही व्यक्ति छानबिनको दायरामा नआए यो अनुसन्धान नै पुरा हुनेछैन।

भुटानबाट विस्थापित भई आएकामध्ये करिब १ लाख १३ हजार शरणार्थी नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पुनर्वासमा गइसकेका छन् । तेस्रो देश जान अनिच्छुक ६ हजार ३ सय ६५ जना मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन्, उनीहरूलाई नेपालमै कार्य सहमति दिने प्रक्रिया अघि बढाइएको थियो । तर, राजनीतिक आडमा धन्दा गर्दै आएका केशव दुलाल र सानु भण्डारीसहितको गिरोहले ‘छुट’ का नाममा नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने योजना बनाएका थिए । यही योजनामा सारा शक्तिकेन्द्र जोडिएपछि यो प्रकरणले यति ठूलो रूप लिएको हो ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु