विश्व बैंकद्वारा नेपालका लागि १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान स्वीकृत
वि.सं.२०७९ चैत १३ सोमवार ०७:३६
shares

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि नेपाललाई विश्व बैंकले करिब १६ अर्ब रुपैयाँ दिने भएको छ ।
नेपालको शिक्षा क्षेत्रमा सहायतास्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने भएको हो । गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको कार्यानवयनमा सहयोगस्वरुप १२० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो ।
नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोगस्वरुप यो अनुदान स्वीकृत भएको विश्व बैंकले जानकारी गराएको छ । ‘गुणस्तरीय शिक्षामा लगानी भनेको मानव पुँजीको विकासका लागि महत्वपूर्ण हो, जुन बृहत्तर प्रतिफल र आर्थिक वृद्धि सुनिश्चित गर्नेका लागि आवश्यक हुन्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने, ‘यो कार्यक्रमले नयाँ संघीय राज्यको महत्वकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर र समतामुलक पहुँच बढाउने नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने छ ।’
विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम नेपाल सरकारको विगतका विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरुमा आधारित छ । स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरी विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रित गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ ।
यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागू गर्नमा केन्द्रित गर्ने बताइएको छ । कोभिड-१९ र अन्य विविध कारणले विद्यालय बन्द हुँदा अध्ययन तथा सिकाइमा भएको क्षतिलाई कम गर्दै यो अनुदानमार्फत सरकारको कार्यक्रमलाई सहयोग गर्ने र शिक्षा क्षेत्रलाई पुनर्उत्थान तथा तीव्र गतिमा सिकाइलाई अघि बढाउने लक्ष्य लिइएको विश्व बैंकले जनाएको छ ।

























