गृहपृष्ठ ८ महिनाको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड, निर्यात २९ प्रतिशतले कम
८ महिनाको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड, निर्यात २९ प्रतिशतले कम
आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सरकारले अनेकौं कार्यक्रम घोषणा गरे पनि परिणाम निराशाजनक देखिएको छ । गत वर्ष ५ महिनामा खर्ब रुपैयाँ नाघेको निर्यात यस पटक ८ महिनामा बल्ल त्यो लक्ष्यमा पुगेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ को ५ महिनामै १ खर्ब २ अर्ब ९२ करोड निर्यात भएको थियो ।
मुलुकको निर्यात व्यापार प्रशोधित पाम तेल र भटमासको प्रशोधित तेलमा निर्भर हुँदै आएको छ । यी दुई वस्तुको निकासी घटबढकै आधारमा समग्र निर्यात घट्ने र बढ्ने गरेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा प्रशोधित पाम तेलको निर्यात ५७ प्रतिशत र भटमासको प्रशोधित तेलको निर्यात ७९ प्रतिशत घटेको छ, जसले गर्दा खर्बको निर्यात पुर्याउन ८ महिना लाग्यो ।
कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएका यी वस्तुले समग्र निर्यातरआयात व्यापारमा प्रभाव पार्ने गरेका हुन् । आठ महिनामा यी दुई वस्तुको निकासी घटेकै कारण समग्र निर्यात २९.७ प्रतिशतले घटेको देखिन्छ । गत वर्षको ८ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोडको निर्यात भएको थियो ।
निर्यात बढाउनकै लागि २०७९/८० को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अदुवा, अलैंची, जडिबुटीलगायत तुलनात्मक लाभका वस्तुहरू तयारी रूपमा प्रशोधन तथा ब्रान्डिङ गरी निकासी गर्न त्यस्ता वस्तुको पकेट क्षेत्रमा प्रशोधन उद्योग खोल्न थप सहुलियत प्रदान गर्ने बताएका थिए । नेपाल एकीकृत व्यापार रणनीति र व्यापार घाटा न्यूनीकरण रणनीतिक कार्ययोजना परिमार्जनसहित कार्यान्वयन गर्ने बताएका थिए ।
क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीलगायत वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवा पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने दाबी गरेका थिए । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको बताएका थिए ।
त्यस्तै, औद्योगिक क्षेत्रको विकास, वैदेशिक लगानी आकर्षित र उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने बताएका थिए । यद्यपि, निर्यात व्यापारमा कुनै सुधार भएको छैन ।
प्रकाशित समय : १०:४० बजे

















