गृहपृष्ठ रवि लामिछानेले पाए राहदानी विवादमा प्रहरी र सरकारी वकिलबाट ‘क्लिन चिट’
रवि लामिछानेले पाए राहदानी विवादमा प्रहरी र सरकारी वकिलबाट ‘क्लिन चिट’
राहदानी विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी र सरकारी वकिलको कार्यालयले ‘क्लीन चिट’ दिने तयारी गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ । लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको राय छ ।
‘केही घटना विवरण र कानूनी आधार हेर्दा उहाँले झुटा विवरण बुझाएर राहदानी लिएको पुष्टि हुनसक्ने देखिएन’, सरकारी वकिलको कार्यालय काठमाडौंको स्रोतले भन्यो, ‘हामी प्रहरीको प्रतिवेदन अध्ययन गरिरहेका छौं, सम्भवतः एक/दुई दिनमा फाइल उच्च सरकारी वकिलको कार्यालय, पाटनमा पुग्नेछ ।’
कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । यसरी हुने निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुग्छ ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव)को रायसहितको फाइल महान्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ।
प्रकाशित समय : ०६:५० बजे



















