गृहपृष्ठ चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गरेका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने बताए।निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्ने गरि दुईवटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने उनले बताए। थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताए ।
उनले अर्को पटकदेखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरि कानुन संशोधन गर्न लागिएको जानकारी दिए।
आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसकेका छन्।
प्रकाशित समय : १५:३९ बजे


















