गृहपृष्ठ गोंगबुमा तोडफोड र आगजनी गर्ने ६ जना पक्राउ
गोंगबुमा तोडफोड र आगजनी गर्ने ६ जना पक्राउ
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।
गोंगबुमा सोमबार भएको घटनामा प्रहरीको दुईवटा गाडी पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै दुईवटा मोबाइल पसलबाट करोडौंको सामान लुटपाटसमेत भएको थियो । सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत आइजीपी धिरजप्रताप सिंह तथा सशस्त्रका आइजीपी राजु अर्याललगायत सुरक्षा निकायका प्रमुखलाई बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
प्रकाशित समय : ०६:३१ बजे



















