गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजमा सकियो एनईडीसीको दोश्रो संस्करण

नेपाल इन्जिनियरिङ कलेजमा सकियो एनईडीसीको दोश्रो संस्करण

नेपाल इन्जिनियरिङ कलेजमा सकियो एनईडीसीको दोश्रो संस्करण

नेपाल इन्जिनियरिङ डिबेट च्याम्पियनसिप (एनईडीसी) को दोस्रो संस्करण भक्तपुरमा सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) ले कार्यक्रमको आयोजना गरेको हो । एनईडीसी एशियाली तथा अस्ट्रेलियाली संसदीय ढाँचामा गराइने वादविवाद प्रतियोगिता हो ।

प्रतियोगितामा दुई टोलीहरू हुन्छन् जसमा १ टोलीले सत्तापक्षको दायित्व निभाउँछन र अर्को टोलीले प्रतिपक्षको । एउटा टोलीमा अध्यक्ष, उपाध्यक्ष र सचेतक गरी ३ जना हुन्छन् । एनईडिसीको दोस्रो संस्करण पौष २१ देखि सुरुवात भएको थियो । यस दिन ८ वटा टोली निर्माण भए र आठै टोलीहरुलाई वादविवादका विषयहरु प्रदान गरियो । यस सत्रमा सम्पूर्ण टोलीहरूले संसदीय ढाँचा कस्तो हुन्छ भन्नेबारे जानकारी पाए र नियमहरु बुझे ।

दुई हप्ताको तयारी समयका पश्चात माघ ५ गते अभ्यास सत्र राखियो । यसदिन निश्चित गराइएका सत्तापक्ष र प्रतिपक्ष टोलीहरूले सम्बन्धित विषयलाई लिएर एकअर्कासँग वादविवादको अभ्यास गरे । माघ ६ गतेका दिन क्वार्टर फाईनल राउण्ड भयो जहाँ प्रतियोगिता पश्चात आठवटा टोलीबाट सर्वोत्कृष्ट ४ टोली प्रि–फाइनलस् पुग्न सफल भए । निर्णायक मण्डलमा नेपाल इन्जिनियरिङ कलेजका सहायक प्राध्यापक दयासागर निरौला साथै कार्डका पूर्व कार्यक्रम संयोजक आशुतोष मणी त्रिपाठी थिए ।

फाइनल कार्यक्रममा निर्णायक मण्डलका रुपमा सहप्राध्यापक गणेशप्रसाद अधिकारी, सहायक प्राध्यापक दयासागर निरौला तथा जुनियर प्राध्यापक यमकृष्ण पौडेल रहेका थिए । प्रि–फाइनल राउण्डमा सहभागी ४ टोलीले दुईवटा विषयमा वादविवाद गरे । पहिलो विषय “अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन” भन्ने थियो । त्यसैगरी दोस्रो विषय “एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन” भन्ने रहेको थियो । “अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन” भन्ने शीर्षकमा भएको वादविवादमा निर्णायक मण्डलले सत्तापक्षको टोलीलाई विजेता घोषित गरे । त्यसैगरी “एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन”भन्ने विषयमा प्रतिपक्षको टोलीले विजयको स्वाद चाखे ।

निर्णयसंगै फाइनल राउण्डका लागि दुईवटा टोली चयन हुन सफल भएका थिए । पहिलो टोलीका सदस्यहरुमा सुवास खनाल, किरण लिम्बु र आशिष तिमल्सिना रहेका थिए भने दोस्रो टोलीका सदस्यहरुमा सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनी रहेका थिए । फाइनल राउण्डको शीर्षक “आर्टिफिसियल इन्टेलिजेन्स मानव सभ्यताका लागि खतरनाक छ” भन्ने थियो । यस वादविवादमा दोस्रो टोलीले सत्तापक्षको जिम्मेवारी निर्वाह गर्दै थियो भने पहिलो टोलीले प्रतिपक्ष भएर बोलेका थिए । निर्णयले उक्त विषयका प्रतिपक्षमा बोल्ने टोलीलाई विजयी घोषित गरियो ।अर्थात् विजयी टोलीमा सुवास खनाल, किरण लिम्बु र आशिष तिमिल्सिना पर्न सफल भए । उपविजेता टोलीमा सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनी पर्न सफल भए ।

विजेता तथा उपविजेता टोलीलाई सम्मानसाथ पदक, ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरियो । सर्वश्रेष्ठ वक्ताको उपाधि सचिता पुडासैनीले प्राप्त गर्न सफल भएकी थिइन् । उनलाई पदकका साथ निर्णायक मण्डलतर्फका सहप्राध्यापक गणेशप्रसाद अधिकारीले सम्मान गरे । यसैगरी आयोजक समितिको मेहनतलाई कदर गर्दै निर्णायक मण्डलतर्फकै सहायक प्राध्यापक दयासागर निरौलाद्वारा सम्पूर्ण आयोजक समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरियो ।

निर्णायक मण्डलतर्फकै जुनियर प्राध्यापक यमकृष्ण पौडेलद्वारा सम्पूर्ण सहभागी टोलीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो । आयोजक क्लबले डिबेट च्याम्पियनसिप सँगसँगै अन्य थुप्रै कार्यक्रमहरु पनि गर्ने गरेको छन् । जिज्ञासु, हेरिटेज वाक, रिसर्च वाक, हाइकिङ, पिकनिक, आदि जस्ता कार्यक्रमहरू कार्डले गर्ने गर्दछन् । क्लबको मुख्य उद्देश्य इन्जिनियरहरुमा भएको, प्राविधिक ज्ञानसँगै सफ्ट स्किलको पनि विकास गर्नु रहेको जनाइएको छ ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु