global ime bank Long Banner Ad

गृहपृष्ठ चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्‍याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए ।

सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा सुरु गरेको र त्यसपछि स्थानीय २०/२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए ।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्‍याएको इन्चार्ज साउदले बताए । यस घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु