भारत्तोलन खेलाडी सम्मानित
वि.सं.२०७९ पुस १८ सोमवार १६:१४
shares
छुम्माका पदाधिकारीहरूसँग खेलाडी जिमी ।
भारत्तोलन खेलाडी विद्या जिमी याक्खा सम्मानित भएकी छन् । उनलाई किरात याक्खा छुम्माको काठमाडाैं उपत्यका समितिले सम्मान गरेको हो ।
शनिबार ललितपुरको सानो हात्तीवनमा आयोजित समितिको छैठौं अधिवेशनको अवसरमा खेलाडी जिमीलाई छुम्माले प्रशंसापत्रद्वारा सम्मान गरेको छ । विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका याक्खा समुदायका व्यक्तित्वहरुलाई हौसला दिन संस्थाले सम्मान गर्ने गरेको समितिका अध्यक्ष धनबहादुर देवानले बताए ।
छुम्माको सम्मानले आफूलाई गौरवान्वित तुल्याएको खेलाडी जिमीले बताइन् । ‘आफ्नै समुदायको सामाजिक संस्थाले गरेको सम्मानले थप हौसला मिलेको छ,’ उनले भनिन् ।
सम्मानित खेलाडी याक्खा संखुवासभाको धर्मदेवी नगरपालिका-२, तामाफोककी स्थायीवासी हुन् । २०७६ सालदेखि नेपाल प्रहरी क्लबमा आवद्ध उनले गत कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४ केजी ताैल उचाल्दै स्वर्ण पदक जितेकी थिइन् ।
प्रतियाेगितामा महिला ८७ केजीभन्दा माथिको तौल समूहअन्तर्गत स्न्याचमा उनले ७६ केजी तौल उचालेर राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । त्यसअघि एसियन गेमको छनोटमा कायम ७५ केजीको कीर्तिमान पनि उनकै नाममा थियो ।

























