global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रतिनिधि सभा निर्वाचन : के होला माधव नेपालको पार्टी ?

प्रतिनिधि सभा निर्वाचन : के होला माधव नेपालको पार्टी ?

प्रतिनिधि सभा निर्वाचन : के होला माधव नेपालको पार्टी ?

साढे एक दशकभन्दा बढी नेकपा एमालेको नेतृत्वमा रहेर देशकै नम्बर एक पार्टी बनाउन मुख्यमध्येकाे भूमिका खेलेका माधवकुमार नेपाल अहिले फरक परिचयमा छन् । एमालेबाट १५ महिनाअघि अलग्गिएर नेकपा एकीकृत समाजवादी बनाएका नेपाललाई नयाँ परिचय स्थापित गर्न संघर्ष गर्नुपरिरहेकाे छ । र, उनको पार्टीले यही निर्वाचनबाट राष्ट्रिय दलका रुपमा स्थापित हुन २० निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट भाग पाएको छ ।

तर ‘पहिलो गासमै ढुंगा’ भनेझैं रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि निर्वाचन अघि नै घाटा ब्यहोर्नु परेको छ । अब एमाले विरुद्धको सत्ता गठबन्धनको साहरा लिएर बाँकी रहेका १९ स्थानमै नेपालले जित निकाल्न खोजिरहेका छन् ।

स्वयंम अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट १ बाहेक बाँकी कुनै पनि क्षेत्रमा यो पार्टीको उल्लेख्य मत छैन । त्यसबाहेक डोल्पामा धनबहादुर बुढा र धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डेमात्रै सुरक्षित देखिन्छन् ।

गुल्मी २ मा रामकुमारी झाँक्री, मकवानपुर २ मा विरोध खतिवडा, बारा ४ मा किशान श्रेष्ठ र डोटीमा प्रेम आले जस्ता पूर्वमन्त्रीकै हालत खराब छ । मुख्यतःआफ्नै माउ पार्टीसँग प्रतिस्पर्धा गरिरहेका उनीहरुलाई जित निकाल्न निकै संघर्ष गर्नु परिरहेको छ ।

सल्यानमा प्रकाश ज्वालाका विरुद्ध गठबन्धनकै नेतृत्वकर्ता नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिएपछि चुनौती बढेको छ । तथापी माओवादीको बलियो पकड र काँग्रेसकै आधा मतपाउने विश्वाससहित ज्वाला जित खोजिरहेका छन् ।

दाङ १ बाट शहरी विकासमन्त्री मेटमणि चौधरी आफ्नै पूर्व सहकर्मीलाई भिडाएर जित निकाल्न पक्षमा हुँदा काठमाडौं ८ बाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ एमालेको पकड र स्वतन्त्रको बलिया दाबीलाई पन्छाएर अघि बढ्न खोजेका छन् । इलाम १ मा झलनाथ खनाल, अझाम १ मा शेरबहादुर कुँवर, पाल्पा २ मा सोमप्रसाद पाण्डे र उदयपुर २ मा जगन्नाथ खतिवडालाई निकै संकट मोल्नु परेको छ ।

तथापी गठबन्धनको पुरापुर समर्थन पाए उनीहरुका लागि निर्वाचन सहज हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निषेध र नेपालको ‘विषालु इख’कै कारण जन्मिएको एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको पुरा साथ पाएको थिएन । मतपरिणाम आएको महिनौंसम्म पनि अध्यक्ष नेपालले चित्त दुखाएरै हिडिरहेका थिए । त्यसपछिको दोस्रो अवसर नेपालका लागि संसदीय निर्वाचन बनेको छ ।

पार्टी विभाजनको झण्डै १५ महिनापछि पाएको अवसर सदुपयोग गरि ३ प्रतिशत मत पुर्‍याएर राष्ट्रिय दल बन्नु कम्ता असहज छैन । तथापी उम्मेदवारी दिएका १९ मध्ये अधिकांश र समानुपातिकमा आफ्नै कोर मत तान्न सके समाजवादीलाई सहज हुनेछ । यसले पार्टी विभाजनको औचित्यमात्रै पुष्टि गर्नेछैन, एमालेका अघि आँखा उठाएर हेर्ने उर्जासमेत भर्नेछ ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु