गृहपृष्ठ शीर्ष नेताको दौड सुदूरपश्चिमतिर
शीर्ष नेताको दौड सुदूरपश्चिमतिर
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन् । निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरेको छ ।
आयोगको अनुमतिसँगै राजनीतिक दलले सुदूरपश्चिममा चुनावी सभा आयोजना गर्न थालेका छन् । शीर्ष नेताको दौड पनि सुदूरपश्चिम केन्द्रीत बनेको छ ।
चुनावी अभियानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । देउवा बुधबार र ओली बिहीबार धनगढी पुगेका हुन् । देउवा बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा व्यस्त छन् । कात्तिक २० गतेसम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले बताए ।
ओली आज दार्चुला पुग्दैछन् । जहाँबाट एमालेले चुनावी अभियान सुरु गर्दैछ । दार्चुलामा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधूराको विषय उठाउनेछन् भने चुच्चे नक्सा फर्काउने प्रतिबद्धता पनि गर्नेछन् । यसो गर्दा सजिलै राष्ट्रवादी भइने र चुनावमा मत बढ्ने ओलीको विश्वास छ । सुदूरपश्चिमको दार्चुलाबाट चुनावी सभा सुरु गर्नुको उद्देश्य पनि यही देखिएको छ ।
एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी जाने तयारीमा रहेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ ।
एकीकृत समाजवादीले अछामबाट सभाको आयोजना गर्ने कार्यतालिका छ । एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्नेछन् ।
कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए ।
प्रकाशित समय : ११:०२ बजे

















